नेभिगेशन
नेपाल

एसइई परीक्षा आजदेखि, परीक्षार्थी छात्रभन्दा छात्रा बढी

एक महिनामा नतिजा

भक्तपुर । यस वर्ष आज बिहीबारदेखि थालिने माध्यमिक शिक्षा (एसइई) परीक्षा बिगतका वर्षभन्दा केही फरक हुने भएको छ । परीक्षार्थीले जाँच दिएसँगै उत्तरपुस्तिका जाँच सुरु हुनेछ भने नतिजाका लागि तीन महिना लामो प्रतीक्षा गर्नुपर्ने छैन । एक महिनामा नै परीक्षाफल प्रकाशित हुनेछ । 
यसपटक परीक्षार्थीमा छात्रभन्दा छात्राको संख्या २ हजार ८ सय ६ जनाले बढी छ । आवश्यक तयारी पुरा भएको जनाएको राष्ट्रिय परीक्षा बोर्डका अनुसार १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुनेछ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा पनि छ । परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । 
‘तयारी पूरा गरेका छौं, सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक गरिसक्यौं,’ उनले भने, ‘विद्यार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौं ।’
चैत २९ गते सम्पन्न हुने परीक्षामा यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले जानकारी दिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् । परीक्षार्थीमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी छन् । 
उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशीबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट १ लाख ९ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । 
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने चैत २० मा अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् । 
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । 
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।  परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्नपत्र छ । छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी उनले दिए । यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको छ । 
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपांगता भएका विद्यार्थीका हकमा अपांगताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपांगता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । 

एक महिनामा नतिजा 
यसपटक बोर्ड छिटो नतिजा प्रकाशित गर्न तयार छ । प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएका कारण यस्तो सक्रियता देखिएको हो । व्यस्त कार्यतालिका र प्राविधिक कारणले एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अधिकारीले बताए । 
यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो नतिजा प्रकाशन गर्न ढिला नहुने बताएका छन् । यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच हुनेछ । परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धांकपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्