नेभिगेशन
नेपाल

प्रचण्डले गरे अनलाइन बैठक

काठमाडौं, १६ भदौ - माओवादी केन्द्रले पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठक भर्चुअल गरेको छ । नेता कार्यकर्ता अनलाइन बसेर बैठक गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाट अनलाइन बसेर पार्टीको सुदूरपश्चिम सचिवालयको बैठकलाई सम्बोधन गरेका छन् । उनले नेताहरूलाई संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिए ।

बैठकमा उनले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने उनले बताए ।

भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो । दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।’

सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै उनले सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ ।’ 

पार्टीभित्र आत्मसमीक्षा र आलोचना - आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै सबैले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

पार्टी सरकारमा रहँदा हासिल उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको उनले उल्लेख गरे । ‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ,’ उनले भने, ‘अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ ।’

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि उनले भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन् । पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ ।’ 

संगठन निर्माणलाई अबको अभियानको मूलधार मान्नुपर्नेमा उनको जोड थियो । ‘हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ । त्यसैले सबै कमरेडहरू आत्मसमीक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्