नेभिगेशन
प्रदेश

भक्तपुरमा दशौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव

भक्तपुर । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको संयुक्त आयोजनामा भक्तपुरको सल्लाघारीमा चैत २६ देखि वैशाख ६ सम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यसहित औद्योगिक शान्ति नेपालले विगत वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना गर्दै आएको छ । उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन् । ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिने पनि आयोजकले जनाएको छ । साथै, औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको समेत प्रदर्शनी गरिनेछ ।
आयोजकका अनुसार महोत्सवको विशेष आकर्षणका रूपमा ‘लण्डन ब्रिज’ को प्रतिकृति राखिनेछ । बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू पनि रहनेछन् । त्यसैगरी, विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (कन्सर्ट) आयोजना गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । साथै, वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ । यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ । आयोजक संस्थाका अध्यक्ष सन्दीप महत र निर्देशक सुनिल बज्राचार्यले महोत्सव सफल बनाउन उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्