वीरगंज, १६ भदौ - गृहमन्त्री रमेश लेखकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएकाले नेपालले आफ्नो भन्न पाउने प्रष्ट पारेका छन् । नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यी ३ क्षेत्रलाई आफ्नो भूभाग भन्दा भारतले चित्त दुखाउने र आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताए ।
उनले भने ‘हाम्रो भूमि हाम्रो हो भन्दा कुनै पनि मुलुकले चित्त दुखाउनुपर्ने कुरा छैन, हाम्रो भूमि हाम्रो हो भनिराख्छौं । यसले सम्बन्ध बिग्रने कारण पनि छैन ।’ चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा नेपालले चीनको ग्लोबल सेक्यूरिटी इनिसिएटिभ (जीएसआई) अवधारणालाई समर्थन गरेको हो भन्ने प्रश्नमा उनले ‘नेपाल कुनै देशको सैन्य रणनीतिमा आबद्ध नहुने’ प्रष्ट पारेका छन् ।
‘हामी सबैका मित्र छौं, हामी सबैसँग सहयोग लिन चाहन्छौं, सबैलाई सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘हामी कुनै पनि देशविरुद्ध सैन्य रणनीतिमा आबद्ध हुँदैनौं ।’ गृहमन्त्री लेखकले प्रधानमन्त्री नेपाल फर्केपछि यस विषयमा विस्तृत जानकारी हुने बताए ।
यस्तै उनले सहकारी ठगी प्रकरणमा धेरै जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइराखेको बताएका छन् । जीबी राई पक्राउ पर्न नसकेको सन्दर्भमा उनले विदेशमा लुकेर बसेका सहकारी ठगीका अभियुक्तहरूलाई इन्टरपोलमार्फत नेपाल ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘देशभित्र छ भने पक्राउ गरेर मुद्दा चलाउने, देशबाहिर छ भने देशभित्र ल्याउने काममा हामी लागिरहेका छौं । सरकार यसमा गम्भीर छ ।’
उनले पर्सामा फैलिएको हैजा महामारीको अवस्थामा आवश्यक परे नेपाली सेनालाई समेत परिचालन गर्न सरकार तयार रहेको बताए । हैजाको मूल स्रोत पत्ता लगाउन गृहमन्त्रालयले आफ्नो संयन्त्रको उपयोग गर्ने पनि उनको भनाइ थियो ।