नेभिगेशन
प्रदेश

पर्सा मालपोतमा दशकअघि भ्रष्टाचार, मुद्दा बल्ल

२ करोड ९४ लाख हिनामिनामा आठजनाविरुद्ध मुद्दा

काठमाडौं । पर्साको मालपोत कार्यालयमा दशकअघि भएको करिब २ करोड ९४ लाख रुपैयाँको राजस्व हिनामिना प्रकरणमा बल्ल मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन चार अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७०-७१ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ मा कार्यरत कर्मचारीहरूले एकै नम्बरका दोहोरो र तेहोरो रजिस्ट्रेसन राखी बढी रकम भएका लिखतहरूको राजस्व सरकारी खातामा जम्मा नगरी निजी प्रयोजनमा खर्चिएको अनुसन्धानबाट खुलेको छ । यसरी संगठित रूपमा राजस्व चुहावट गर्ने कार्यमा तत्कालीन मालपोत अधिकृतहरू भूपबहादुर बोगटी, सुरेन्द्रप्रसाद राव कुर्मी, हरिनारायण मिश्र र पदमप्रसाद अर्यालको प्रत्यक्ष संलग्नता देखिएको आयोगको दाबी छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सबैभन्दा बढी बिगो तत्कालीन नायब सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायको हकमा २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ कायम गरिएको छ, जसको असुलीका लागि मुद्दामा उनका चार छोराहरू राजकिशोर, गौतमप्रसाद, पशुपति र मुरारीप्रसाद उपाध्यायलाई प्रतिवादी बनाइएको छ । अन्य अधिकृतहरूमध्ये भूपबहादुर बोगटीविरुद्ध १ करोड १० लाख ६० हजार ५२४ रुपैयाँ, सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध ९९ लाख १० हजार ५१५ रुपैयाँ, हरिनारायण मिश्रविरुद्ध ३८ लाख ८० हजार ३६८ रुपैयाँ र पदमप्रसाद अर्यालविरुद्ध २१ लाख ३८ हजार १६९ रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरदारहरूलाई कैद सजाय, हिनामिना भएको बिगो असुल र बिगोको दोब्बर जरिवानाको मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्