नेभिगेशन
नेपाल

चट्याङका कारण वर्षमा औसत ६७ जनाको मृत्यु

काठमाडौं । चट्याङका घटनाबाट वार्षिक औसत ६७ जनाको मृत्यु हुने गरेको पाइएको छ । 
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३ सय ८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीनमा ४ सय ६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जनाए । 
चट्याङबाट तीन हजार ४ सय ८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३ सय १७ पुरुष, एक हजार ६ सय ३३ महिला छन् । चार हजार २ सय ९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ ।
पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८ सय ४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल ११ करोड ८२ लाख रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको हाइड्रोलोजिस्ट शर्माले जनाए ।
विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी १८२ वटा चट्याङका घटना दर्ता भएका छन् । उक्त जिल्लामा २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । साथै तीन सय परिवार प्रभावित भएका छन् ।
झापामा एक सय १३ घटना, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना दर्ता भएका छन् । मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ । खोटाङमा ९२, संखुवासभामा ८६, र ओखलढुंगामा ७६ वटा घटना दर्ता भएका छन् । यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ । मधेस प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।
पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२ र अछाममा ७३ वटा घटना दर्ता भएका छन् । आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र संखुवासभामा पनि बढी नोक्सानी भएको छ ।
यसैबीच, विज्ञहरूले मनसुन र प्रिमनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन आवश्यकमा जोड दिएका छन् ।
विसं २०७९ देखि विसं २०८१ सम्मको तथ्यांक विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने गरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखिएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार विसं २०७७ मा दुई दुई ४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएका थिए । विसं २०७८ मा घटनाको संख्या दुई सय तीनमा झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र एक सय ७९ जना घाइते भएका थिए ।
वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, दुई सय ३८ जना घाइते, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ को मृत्यु र दुई सय २८ घाइते, विसं २०८१ मा चार सय ३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र तीन सय २२ जना घाइते भएका छन् । विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा चार सय ४१६ घटना हुँदा ४७ को मृत्यु र तीन सय सात जना घाइते भएका जनाए ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको प्रवक्ता एवं मौसमविद् विभूती पोखरेलले हावाहुरी चलिरहेको तथा चट्याङ परिरहेको समयमा घरबाहिर ननिस्कन सुझाए । चट्याङ्ग आउन लागेको छ कि छैन भनेर सर्वसाधारणले केही स्पष्ट प्रारम्भिक संकेतबाट पहिचान गर्न सक्ने विभागका मौसमविद् गोविन्द झा बताउँछन् । उनका अनुसार अस्थिर वायुमण्डल, दिउँसो गर्मी बढ्नु र विस्तारै कालो बादल लाग्नु, बादल तीव्रगतिमा सर्नु र अचानक चिसो हावा चल्नु चट्याङको प्रमुख संकेत हुन् । टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङ्ग आगमनको स्पष्ट सङ्केत रहेकाकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद् झाले जोड दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थाली गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर वा संरचना भए भित्र जानुपर्ने जनाएको छ ।     
के हो चट्याङ ?     
चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।
पूर्वतयारी र सावधानीका उपाय
घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड गर्नु हुँदैन ।
घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी
चट्याङ परिरहेका बेला बाहिर परेमा तत्काल सुरक्षित भवनभित्र पस्नुपर्छ । रुख, बिजुलीका पोल वा टावर नजिक बस्न नहुने, छाता प्रयोग नगर्नु पर्ने तथा खेतबारीमा काम गरिरहेको अवस्थामा काम रोकी सुरक्षित स्थानमा जानुपर्ने उल्लेख गरिएको छ । सुरक्षित ओत उपलब्ध नभएमा शरीरलाई सानो बनाएर घुँडा समातेर बस्नुपर्ने, समूहमा भए अलगअलग र टाढा बस्नुपर्छ ।
खोला, पोखरी वा पौडी क्षेत्रमा रहेमा तुरुन्त बाहिर निस्कन र माछा मार्ने वा ¥याफ्टिङजस्ता गतिविधि गर्नु हुँदैन । साइकल वा मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा सवारी साधन रोकी ओर्लनुपर्ने र धातुका वस्तु नछुनुपर्ने सुझाव प्राधिकरणले दिएको छ ।
घरभित्र हुँदा के गर्ने ?     
प्राधिकरण वरिष्ठ हाइड्रोलोजिष्ट शर्मा घरभित्र हुँदा झ्यालढोका बन्द गरी सुक्खा स्थानमा बस्नुपर्ने, तारयुक्त टेलिफोन प्रयोग नगर्नुपर्ने तथा सकेसम्म मोबाइल फोनसमेत प्रयोग नगर्न सुझाउँछन् । चार्जमा रहेका विद्युतीय उपकरणहरू हटाउने, टिभी, कम्प्युटरजस्ता उपकरण बन्द गरी प्लग निकाल्नुपर्छ ।
साथै पानीका धारामा नछुने, नुहाउने, कपडा धुने वा भाँडा माझ्ने काम नगर्नुपर्ने तथा झ्याल, ग्रिल वा धातुका संरचनामा नअडिएर अलग बस्नु हुँदैन ।
गर्भावस्थामा चट्याङको असर
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा आरजुचन्द सिंहले गर्भवतीमा चट्याङसम्बन्धी फैलिएका भ्रमहरूले अनावश्यक डर सिर्जना गर्ने भन्दै वैज्ञानिक तथ्यमा आधारित जानकारी अपनाउन आग्रह गरेकी छिन् । ‘गर्भावस्थामा चट्याङ जस्ता मौसमजन्य घटनाभन्दा पनि सही जानकारी र व्यवहारिक सावधानी महत्वपूर्ण हुन्छन् । सामान्य अवस्थामा चट्याङको प्रभाव गर्भवती महिला वा गर्भस्थ शिशुमा हानी गर्दैन । झ्यालबाट चट्याङ देख्नु, बाहिर पानी परिरहेको बेला घरभित्र बस्नु वा गर्जन सुन्नुजस्ता अवस्थालाई ‘अप्रत्यक्ष सम्पर्क’ मानिन्छ । जुन गर्भवती र शिशु दुवैका लागि सुरक्षित मानिन्छ,’ उनले भनिन्, ‘प्रत्यक्ष रूपमा चट्याङ लाग्ने सम्भावना अत्यन्तै कम हुन्छ तर यस्तो अवस्थामा आमाको मुटु वा स्नायु प्रणालीमा असर पर्नसक्ने र त्यसले शिशुको अक्सिजन आपूर्तिमा समस्या ल्याउन सक्छ ।’
चट्याङको गर्जनले शिशुलाई हानि पुर्याउँछ भन्ने विश्वास गलत रहेको भन्दै उहाँले अम्नियोटिक तरल पदार्थले ध्वनि तरङ्गलाई कम गर्ने बताइन् । डा सिंहका अनुसार प्रत्यक्ष विद्युत् झट्का लागेमा, बेहोस हुने, लगातार चक्कर आउने, रगत बग्ने, पानी चुहिने वा पेट दुख्नेलगायत लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्ने हुन्छ । सामान्य रूपमा दुई घण्टाभित्र कम्तीमा १० पटक शिशुको हलचल महसुस हुनुपर्ने उल्लेख गर्दै उनले असामान्य कमी देखिएमा तत्काल ध्यान दिनुपर्ने सुझाव दिए । (रासस)  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल