नेभिगेशन
प्रदेश

पिपलबोटे ट्युसन कक्षा

इटहरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा, बोर्डमा लेखिएको छ श्री पिपलबोटे खुल्ला विद्यालय । यहाँ बिहान ७ बजे नर्सरीदेखि कक्षा ७ सम्मका ३०–३५ जना बालबालिका सिकाइका लागि भेला हुन्छन् । चन्द्र भण्डारी, जसलाई स्थानीयले ‘चन्द्र सर’ भन्छन्, उनी बालबालिकालाई पढाउँछन्, होमवर्क गर्न सघाउँछन् । यो औपचारिक रुपमा दर्ता भएको स्कुल होइन । भण्डारीको व्यक्तिगत पहल र इच्छाशक्तिले निरन्तरता पाएको शैक्षिक चौतारी हो ।
६० वर्षीय भण्डारी धनकुटाको कागतेका हुन् । सामान्य परिवारमा हुर्केका उनले बाल्यकालमा अभाव झेलेका थिए । २०४४ सालमा ५० रुपैयाँ मात्र लिएर इटहरी आएका भण्डारीले सुरुमा ग्यारेजमा काम गरे । पछि कपडा व्यापार, त्यसपछि बाँस व्यापारमा हात हाले । बाँसको व्यापार गर्दा स्कुल जाने उमेरका बालबालिकाले धुलोमाटोमा खेलिरहेको देखेर उनलाई उनीहरूको पढाइ सुनिश्चित गर्नु आवश्यक ठाने । सुरुमा १० जना बालबालिकालाई बिहान र बेलुका दुई–तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गरे । 
वर्ष बिते, विद्यार्थी संख्या बढ्दै गयो । पहिले सानो कटेजमा पढाउने गरिएको थियो, तर २०६० सालमा कटेज भत्किएपछि भण्डारीले बालबालिकालाई खुला आकाशमुनि पढाउन जारी राखे । वर्षा, बाढी, गर्मी मौसम, यहाँसम्म कि कोभिड–१९ महामारीका बेला पनि ट्युसन कक्षा रोकिएन । अहिले दैनिक ३०–३५ बालबालिकाले यहाँ नियमित ट्युसन पाउँछन् । अधिकांश बालबालिका मकै, बदाम, जुत्ता पालिस, रिक्सा चलाउने जस्ता श्रमिक परिवारका छन् ।
भण्डारीले ट्युसन पढाउनुका साथै बालबालिकालाई जन्मदिनमा कापी, कलम र पुस्तक उपहार दिने, सहकर्मी र स्थानीय सहयोगीमार्फत लत्ताकपडा र अन्य सामग्री उपलब्ध गराउने काम पनि गर्छन् । उनको प्रयासले विद्यार्थीहरूलाई पढ्ने अवसर र आत्मविश्वास दुवै दिएको छ । (रासस)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्