बुटवल, १६ भदौ - नेपालमा वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन विदेशबाट आयात हुने गरेको तथ्यांक सार्वजनिक हुँदै गर्दा यसलाई रोक्नका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको समन्वयमा ’कृषि उत्पादन तथा बजारीकरणमा व्यावसायिक साझेदारी’ विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
सोमबार रुपन्देहीको तिलोत्तमामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय खाद्य बैंकका अध्यक्ष, पदाधिकारी, उद्योगी– व्यवसायी र कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए । यस अन्तरक्रियाको मुख्य उद्देश्य कृषि क्षेत्रका समस्या, चुनौती र सम्भावनामाथि छलफल गरी समाधानका लागि ठोस कदम चाल्नु रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले नेपालको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि विदेशबाट हुने अत्यधिक आयातले देशको व्यापार घाटा बढाएको बताए । उनले भने, ‘हाम्रो देशमा उत्पादन गर्न सकिने वस्तुहरू समेत विदेशबाट आयात भइरहेको छ, जसले किसानलाई निरुत्साहित गरेको छ र देशको अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ । वार्षिक ६ खर्बको कृषि आयात रोक्नका लागि स्वदेशी उत्पादन बढाउनुको विकल्प छैन ।’
अध्यक्ष उप्रेतीले राष्ट्रिय खाद्य बैंकले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न काम गरिरहेको जानकारी दिए । यसका लागि तीनै तहका सरकार (संघीय, प्रदेश र स्थानीय) ले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने र किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा उनले जोड दिए । साथै, उनले सरकार, निजी क्षेत्र, किसान र अन्य सरोकारवाला निकायबीचको सहकार्यले मात्र कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।
राष्ट्रिय खाद्य बैंकका सल्लाहकार तथा उद्योगी किशोर प्रधानले देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘कृषि क्षेत्रले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन सक्छ । यसका लागि परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न आवश्यक छ,’ प्रधानले भने । उनले कृषिमा निजी क्षेत्रको लगानी बढाउनका लागि सरकारले आवश्यक सहयोग र वातावरण बनाउनुपर्नेमा पनि जोड दिए ।
राष्ट्रिय खाद्य बैंककी प्रवक्ता पवित्रा पोखरेलले नेपालमा उत्पादित कृषि वस्तुको बजारीकरणमा जोड दिइन् । ‘उत्पादन बढाएर मात्र हुँदैन, त्यसलाई बजारमा पुर्याउने र उचित मूल्य दिलाउने व्यवस्था पनि हुनुपर्छ,’ पोखरेलले भनिन् ।
उनले नेपालमा कृषि उत्पादनको बजारीकरण गरेर विदेश निर्यात गर्न सकिने प्रशस्त सम्भावना रहेको र यसका लागि सम्बन्धित निकायहरूको सहकार्य आवश्यक रहेको धारणा राखिन् । उनले किसानलाई उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियामा सहयोग गर्नुपर्ने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषिमा राज्यको लगानी र ध्यानको कमी भएको बताए । उनले भने, ‘यदि राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएर लगानी गर्ने हो भने नेपाललाई कृषिबाट आत्मनिर्भर बनाउन सकिन्छ ।’ उनले निजी क्षेत्रले पनि कृषिमा लगानी बढाएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै किसानलाई उत्पादनमा जोडेर कृषिजन्य उत्पादन बढाउने र त्यसलाई सही तरिकाले बजारसम्म पुर्याउन सहयोग गर्ने रहेको बताए । उनले राष्ट्रिय खाद्य बैंकसँगको सहकार्यले यस क्षेत्रका किसान र व्यवसायीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।
करिब चार वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंकले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको छ । यस अन्तरक्रिया कार्यक्रमले निजी क्षेत्र र सरोकारवाला निकायहरूबीच कृषि क्षेत्रको विकासका लागि सहकार्यको नयाँ ढोका खोलेको तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजन पाण्डेयले जानकारी दिए ।
यस कार्यक्रमले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि नीतिगत र व्यावहारिक दुवै तहमा काम गर्न प्रेरणा मिलेको सहभागीहरूको भनाइ थियो ।