बुटवल, १६ भदौ - लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच दोस्रो मुख्यमन्त्री स्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा, खाँडामा सम्पन्न बैठकमा दुवै प्रदेशका मुख्यमन्त्रीहरूले साझा विकासका लागि नौ बुँदे सहमति गरेका छन् ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी थिए । दुवै मुख्यमन्त्रीले सहमतिको निर्णयपत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनीका मुख्यमन्त्री आचार्य र गण्डकीका मुख्यमन्त्री पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारको ध्यानाकर्षण गराउदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको जानकारी दिए ।
‘संविधानले प्रदेशलाई प्रदान गरेका जुन अधिकार हो त्यसलाई अहिले पनि संघीय सरकारमार्फत प्रत्यायोजित हुन सकिरहेको अवस्था छैन । संविधानले दिएको अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गराउन हामी यसरी नै समन्वय र सहकार्य गरेर अघि बढ्ने छौं,’ उनले भने, ‘प्रदेशसँग जोडिएका क्षेत्रमा देखिएका सडक पूर्वाधारको समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।’
त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेश सीमासँग जोडिएका समस्या समाधान गर्न दुई प्रदेशबीचको समन्वय अपरिहार्य रहेको धारणा राखे । उनले योग र ध्यानको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने सम्भावनामा विशेष जोड दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सीमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकारबीचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । लुम्बिनी र गण्डकी प्रदेशलाई योग र ध्यानको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने हुँदा यसमा जोड दिनुपर्ने बताए ।
‘अन्तर प्रदेश सहकार्य र समन्वयले काम गर्ने शैली तथा अनुभवहरूमा पुनर्ताजगी ल्याउने छ,’ पाण्डेले भने, ‘योग र ध्यानलाई केन्द्रित गरी पर्यटन सम्भावनालाई बढाउदै लैजानुपर्ने छ ।’ बैठकमा नेपाल संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्तरूपमा अघि बढाउने सहमति गरिएको छ ।
निर्णय अनुसार २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिबद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ ।
बैठकले दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेश गर्ने, कार्तिक महिनामा उत्तरबाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको छ ।
बैठकले सिकाइ आदान–प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरूपता कायम गर्दै जाने र दुवै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्तरूपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुवै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकारवाला पक्षका व्यक्तिहरूको सहभागीता थियो ।