नेभिगेशन
विश्व

इरान युद्धयता पेट्रोलको मूल्यमा ४५ रुपैयाँ वृद्धि

काठमाडौं  । इरान–इजरायल युद्ध सुरु भएयता संसारभर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ  । युद्ध सुरू भएपछि उत्पादन तथा वितरण प्रभावित भएका कारण २०८२ फागुन १६ देखि चैत २० सम्ममा पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढेको हो ।
एक महिनाको अवधिमा नेपालमा मात्रै पेट्रोलको मूल्य प्रतिलिटर ४५ रुपैयाँ बढेको छ । काठमाडौंमा फागुन १६ गते प्रतिलिटर १५७ रुपैयाँ रहेको पेट्रोल बिहीबार मध्यरातदेखि २०२ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमका अनुसार भारतले पठाएको मूल्यअनुसार समायोजन गर्ने हो भने पेट्रोलको मूल्य प्रतिलिटर ७० रुपैयाँ बढेको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढेको छ । फागुन १६ गते काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ रहेकोमा अहिले १८२ रुपैयाँ पुगेको छ  । भारतले भने डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ बढाइसकेको निगमले जनाएको छ ।
युद्धका कारण अन्य पेट्रोलियम पदार्थको मूल्य बढे पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छैन । ग्यास प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँमा बिक्री भइरहेको छ । ग्यास अभाव बढेपछि आधा सिलिन्डरका दरले बिक्री भइरहेको छ । निगमले आधा सिलिन्डरको मूल्य ९५५ रुपैयाँ निर्धारण गरेको छ । निगमका अनुसार ग्यासको मूल्य पनि भारतले प्रतिसिलिन्डर १९० रुपैयाँ बढाइसकेको छ ।
निगमले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३७ पैसा र डिजेलमा प्रतिलिटर १ सय २० रुपैयाँ ५४ पैसा घाटा छ । त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३६ पैसा घाटा छ । यो सबै घाटा जोड्दा निगम पाक्षिक रूपमा ११ अर्ब ७१ करोड रुपैयाँ नोक्सानीमा छ ।
एक महिनाको अवधिमा विश्व बजारमा कच्चा तेलको मूल्य करिब ३८ प्रतिशत बढेको छ । फेब्रुअरी अन्त्यसम्म प्रतिब्यारेल ७९ डलर रहेको कच्चा तेल अहिले प्रतिब्यारेल १०९ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खाडी क्षेत्रमा इरान–अमेरिका सम्बन्धमा आएको तनाव र स्ट्रेट अफ हर्मुज आसपास आपूर्ति अवरूद्ध हुन सक्ने जोखिमले विश्व बजारमा त्रास सिर्जना गरेको छ । विश्व बजारमा खपत हुने तेलको ठूलो हिस्सा यही मार्गबाट आपूर्ति हुने भएकाले त्यहाँ अवरोध उत्पन्न हुँदा मूल्य उचालिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्