नेभिगेशन
शिक्षा

मुगुको जेठो विद्यालयमा प्राविधिक शिक्षा

मुगु, १६ भदौ - मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित जिल्लाकै पुरानो शैक्षिक संस्था श्री महाकाली नमूना माध्यमिक विद्यालयमा स्थापनाको ५९ वर्षपछि पहिलोपटक प्राविधिक शिक्षाअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालनमा ल्याइएको छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आइतबार आयोजित विशेष समारोहमा कक्षा ९ मा सिभिल इन्जिनियरिङ विषयको औपचारिक उद्घाटन गरेका हुन् । समारोह विद्यालयकै ऐतिहासिक भवनको खुल्ला चौरमा सम्पन्न भएको थियो ।

२०७९ सालको असार ४ गते छायाँनाथ रारा नगरपालिकाबाट अनुमति पाएपछि चालू शैक्षिक सत्रदेखि कक्षा ९ मा ५५ जना विद्यार्थीले सिभिल इन्जिनियरिङ अध्ययन गर्न थालेका छन् ।आठ सय ३३ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा ३५ शिक्षक, ११ भवन र आधारभूत पूर्वाधार रहेका छन् । 

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर रोकायाका अनुसार विगतमा प्राविधिक धारको शिक्षा आर्थिक हैसियत हुने विद्यार्थीहरू मात्रले बाहिरी जिल्लामा गएर पढ्न सक्थे । अब भने साधारण तथा आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई पनि प्राविधिक शिक्षाको सहज पहुँच सुनिश्चित भएको छ ।

नगरप्रमुख बिष्णुकुमार भामले यस कार्यलाई शिक्षा भित्रको आत्मनिर्भरता र नगरमै दक्ष जनशक्ति उत्पादन गर्ने रणनीतिसँग जोड्दै पहिलो चरणमा ३३ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको बताए । नगरपालिकाको अगुवाइ, भवन, उपकरण र अन्य पूर्वाधारको संयोजनमा प्राविधिक शिक्षाको थालनी भएको हो ।

कार्यक्रममा मन्तव्य दिंदै मन्त्री ऐनबहादुर शाहीले आफ्नो विद्यार्थी जीवन यही विद्यालयमा बिताएको स्मरण गर्दै सोही विद्यालयमा प्राविधिक धारको उद्घाटन गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आउने दिनमा आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशसभा सदस्य मंगलबहादुर शाहीले गरिब तथा पिछडिएका वर्गका लागि यो विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्रबहादुर मल्लले दशकौंदेखिको अभाव अन्त्य गरी अब मुगुबासी बालबालिकाले आफ्नै जिल्लाबाटै प्राविधिक शिक्षा हासिल गर्न सक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्