काठमाडौं । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङले २०औं एनएनआईपीए स्पोट्र्स अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजना तथा स्थानीय आयोजकका रूपमा काभ्रेको बनेपा नगरपालिकासँगको समन्वयमा चण्डेश्वरी मन्दिर परिसरमा आज एक कार्यक्रमका बीच दुवैलाई उक्त अवार्डसहित जनही रु एक लाख नगदबाट पुरस्कृत गरिएको एनएनआईपीएले जनाएको छ ।
प्रतिभाशाली खेलाडी अवार्ड पुरुषतर्फ तेक्वान्दोका अभिषेक बराल र महिलातर्फ बक्सिङकी स्वस्तिका तिरुवाले हात पारेका छन् । उनीहरूलाई ट्रफीसहित जनही रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको हो । गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कार भलिबल प्रशिक्षक कुमार राईले प्राप्त गर्दा फोटो पत्रकार उदिप्तसिंह क्षेत्री एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवैले जनही रु ३५ हजार नगद पुरस्कार पाएका छन् ।
वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड एथलेटिक्सकी प्रभा आङडेम्बेले जितिन् । प्रभाले रु १५ हजार नगद पुरस्कार पाइन् । त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी–२०८२ बाट पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल) र अच्युतकृष्ण खरेल (साइक्लिङ) रहेका छन् ।
त्यस्तै सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलीप यादव (भारोत्तोलन), रविन चेपाङ (¥याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्यास्टिक), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन् ।
यिनै २६ खेलाडीमध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको स्थानीय आयोजक बनेपा नगरपालिकाले जनाएको छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता, राखेपका कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताएका छन् । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड आयोजना गरिएको हो ।