नेभिगेशन
खेलकुद

खेल्नुअघि दुर्घटनामा एकको मृत्यु

पेरुको राजधानी लिमामा स्थानीय फुटबल डर्बी खेलअघि भएको एक घटनामा एक दर्शकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।सुरूवाती अनुसन्धानमा भने रंगशालाको पर्खाल र संरचनाका केही भाग भत्किएको उल्लेख गरिएको थियो तर पछि त्यसलाई अस्वीकार गरिएको छ ।
मृत्युको पुष्टि गर्दै पेरुका स्वास्थ्य मन्त्री जुवाँ कार्लोस भेलास्को गुएरोले लिमास्थित एक अस्पतालमा सञ्चारमाध्यमसँग कुरा गर्दै ४७ जना घाइते भएको बताए, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घटनापूर्व सयौँ समर्थकहरू अलेजेन्द्रो भिलानुएभा स्टेडियम वरिपरि भेला भएका थिए । उनीहरू घरेलु टोली एलिएन्जा लिमाको जर्सी लगाएर झण्डा फहराउँदै स्थानीय प्रतिद्वन्द्वी युनिभर्सिटी अफ डिपोर्तिज विरुद्धको खेलको प्रतीक्षामा थिए ।
अग्नि नियन्त्रण प्रमुख मार्कोस पेजुएलोले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दक्षिणी स्ट्यान्डको संरचना राम्रो अवस्थामा देखिएको बताएका छन् । उनले भने, ‘यहाँ कुनै पर्खाल भत्किएको वा कुनै भाग खाल्डोमा खसेको अवस्था छैन ।’
शनिबार राति हुने भनिएको खेल भने तय कार्यक्रमअनुसार नै सञ्चालन हुने फुटबल लिगले जनाएको छ ।
यसअघि आन्तरिक मन्त्रालयले ‘एक्स’ मार्फत जानकारी दिँदै रंगशालामा ‘संरचनाभित्र मानिसहरू फसेको आपतकालीन अवस्था’मा ४० जना दमकलकर्मी खटिएको जनाएको थियो ।
पछि एलिएन्जा लिमाले पनि ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै प्रारम्भिक जानकारीअनुसार घटना रंगशालाको पर्खाल वा संरचना भत्किएकोसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ ।
पेरु व्यावसायिक फुटबल लिगले पनि एक विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ र खेलकुद कार्यक्रममा सहभागी सबैको सुरक्षा र हितप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्