नेभिगेशन
प्रदेश

फेवाताल छेउ डोजर चल्यो

पोखरा  । फेवाताल किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउने कार्य पोखरा महानगरपालिकाले शनिबार बिहान झिसमिसेमै सुरु गरेपछि सोको पक्ष र विपक्षमा दिनभर नाराबाजी जारी रह्यो । 
बिहान करिब ५ बजेदेखि ९ बजेसम्म महानगरको टोलीले नेपाल प्रहरीको सुरक्षा घेराबीच सेदीदेखि खपौदीसम्मका ३२ वटा संरचनामा डोजर चलाएको हो । अधिकांश स्थानमा मानिसहरू घरमै सुतिरहेको अवस्थामा पुगेर संरचनाको केही भाग भत्काई चेतावनी दिँदै बाँकी सामान आफैं हटाउन भनिएको थियो । 
संरचना भत्काइएपछि क्रुद्ध भएका स्थानीयले महानगर प्रमुख धनराज आचार्य र प्रधानमन्त्री बालेन्द्र शाहविरूद्ध नाराबाजी गरिएको थियो तर आचार्यले भने यो कदम सर्वोच्च अदालतको आदेश कार्यान्वयनका रूपमा लिएको बताएका छन् । अदालतले तालको उच्चतम जलस्तरबाट ६५ मिटरभित्रका संरचना हटाउन, दूषित जग्गा खारेज गर्न र क्षेत्रलाई हरियाली बनाउने आदेश दिएको थियो । त्यसअनुसार यसअघि नै तालको सीमाङ्कन गरी पिल्लर गाडिएको क्षेत्रभित्रका संरचनाबाट काम सुरु गरिएको महानगरले स्पष्ट पारेको छ ।
तर एक्कासि बिना पूर्वसूचना डोजर चलाइएको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका थिए । खपौदी क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । संरचना भत्काउन पुगेको टोलीलाई पनि स्थानीयले अवरोध गर्ने प्रयास भए पनि ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीका कारण डोजर सञ्चालन रोकिएन । यस क्रममा खपौदीस्थित पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट परिसर र त्यहाँको स्विमिङ पुलमा समेत डोजर चलाइएको थियो ।
फेवाताल क्षेत्रमा वर्षौंदेखि अतिक्रमण बढ्दै गएको भए पनि कार्यान्वयन भने हुन सकेको थिएन । अहिले नयाँ सरकारको १०० बुँदे कार्यसूचीमा ताल संरक्षण प्राथमिकतामा परेपछि महानगर सक्रिय बनेको हो । प्रधानमन्त्री शाहले समेत महानगरसँग प्रत्यक्ष समन्वय गरी प्रगति विवरण लिएका छन् । मेयर आचार्यले प्रधानमन्त्रीको चासो र विश्वासपछि आफूहरूले काम थालेको बताएका छन् ।
फेवातालको नयाँ मापनअनुसार तालको क्षेत्रफल करिब ६.३४३ वर्ग किलोमिटर पुगेको छ । ६५ मिटरभित्र पर्ने संरचना हटाउने क्रममा मुआब्जा र स्थानीय सरोकारका विषय भने अझै जटिल छन् । महानगरले भने चरणबद्ध रूपमा सबै अवैध संरचना हटाएर ताललाई अतिक्रमणमुक्त बनाउने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्