एजेन्सी, १६ भदौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । भारतले रुसबाट तेल खरिद गरिरहेकामा आपत्ति जनाउँदै उनले भारतका ‘ब्राह्मण’हरूले जनताको खर्चमा नाफा कमाइरहेको आरोप लगाएका छन् र यसलाई रोक्नुपर्ने बताएका छन् ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा नभारोले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘महान् नेता’ भन्दै प्रशंसा गरे पनि भारतले रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई दिएको समर्थनलाई गम्भीर प्रश्न उठाएका छन् ।
अन्तर्वार्तामा नभारोले भनेका छन्, ‘प्रधानमन्त्री मोदी एक महान् नेता हुनुहुन्छ । भारतीय नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कसरी सहयोग गरिरहेका छन् भन्ने कुरा बुझ्न सकिँदैन । जबकि, भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो ।’
नभारोले आगडि भनेका छन्, ‘त्यसैले म भन्छु– भारतीय जनता, कृपया यहाँ के भइरहेको छ भनेर बुझ्नुहोस् । ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन् । हामीले यसलाई रोक्नुपर्छ ।’
ट्रम्पको व्यापार र भन्सार नीतिका विषयमा अमेरिका र भारतबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । यही बेला नभारोले केही दिनयता भारतलाई निरन्तर निसाना बनाइरहेका छन् । ट्रम्प प्रशासनको व्यापार तथा भन्सार नीतिका कारण अमेरिका–भारत सम्बन्धमा चिसोपन आएको छ ।
ट्रम्पले भारतमाथि २५ प्रतिशत पारस्परिक कर लगाएका थिए, जसमा पछिल्लो समय रुसी तेल खरिदको कारण थप २५ प्रतिशत कर थपिएको हो । भारतले यस निर्णयलाई ‘अनुचित र अव्यावहारिक’ भन्दै अस्वीकार गरेको छ । सस्तो तेल जहाँबाट पाइन्छ, त्यहींबाट किन्नु आफ्नो अधिकार भएको भारतले स्पष्ट पारेको छ ।
नभारोले भारतले रुसबाट तेल खरिद गरेर त्यसलाई प्रशोधन गरी युरोप, अफ्रिका र एसियामा उच्च मूल्यमा बिक्री गरेर ठूलो नाफा कमाइरहेको बताए । उनले दाबी गरे कि यो प्रक्रिया ‘रुसी युद्ध मेसिन’लाई बलियो बनाउन सहयोगी बनिरहेको छ । जसबाट युक्रेनका जनतालाई प्रत्यक्ष हानि पुर्याइरहेको छ भन्दै उनले भारतमाथि थप कर लगाइनु उपयुक्त भएको बताए ।
अघिल्ला अभिव्यक्तिहरूमा पनि नभारोले भारत र प्रधानमन्त्री मोदीको आलोचना गर्दै युक्रेन द्वन्द्वलाई ‘मोदीको युद्ध’ भन्नेसम्म गरेका थिए । ‘भारतले गरिरहेको कामका कारण अमेरिकामा सबैले दुःख भोगिरहेका छन् ।
उपभोक्ता र व्यवसाय सबै घाटामा छन् र कामदारले पनि दुःख भोगिरहेका छन्, किनभने भारतको उच्च भन्सारले हाम्रो जागिर, कारखाना, आम्दानी र राम्रो ज्यालाको अवसर घटाउँछ । अनि, त्यसपछि करदाताले पनि दुःख पाउँछन्, किनभने हामीले ‘मोदीको युद्ध’का निम्ति पैसा तिर्नुपर्छ,’ उनले केही दिनअघि भनेका थिए ।