नेभिगेशन
नेपाल

विदेशी भूमिमा मर्ने श्रमिकको संख्या बढ्दै

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले ज्यान गुमाउने क्रम बढ्दो क्रममा रहेको पाइएको छ । गत आठ महिनामा वैदेशिक रोजगारीमा रहेको करिब एक हजार नेपालीले ज्यान गुमाइसकेका वैदेशिक रोजगार बोर्डले जनाएको छ । 
गत आठ महिनामा ९ सय ८३ नेपालीको विभिन्न कारणले मृत्यु भएको जनाइएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन महिनासम्मको प्राप्त विवरण अनुसार वैदेशिक रोजगारीमा रहेका ९ सय ८३ श्रमिकको मृत्यु भएको, ६ सय १ जना अंगभंग तथा बिरामी भएका छन् । सो मध्ये १ सय २५ जनाको उद्धार तथा ६ सय ८५ को शव व्यवस्थापन भएको हो ।
९ सय ८२ श्रमिकको विदेशमा मृत्युु हुँदा वैदेशिक रोजगार बोर्डले करिब ७३ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढ्दै गएको छ ।
चालु वर्षको सो अवधिमा बोर्डले मृत्युु भएका श्रमिकका परिवारलाई सो रकम सहायता वितरण गरेको बोर्डले जनाएको हो । बोर्डले श्रम स्वीकृति लिई सो अवधिभित्र स्वदेश वा विदेशमा मृत्युु भएको अवस्थामा मृतकका नजिकका हकवालालाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । गत आर्थिक वर्षबाट मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता ७ लाखबाट बढाएर १० लाख रुपैयाँ बनाइएको हो । 
विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता माग गर्ने मापदण्डमा नपरेको संख्या जोड्दा भने विदेशमा मृत्यु हुनेको संख्या अझ बढी हुन्छ । गत आर्थिक वर्षमा भने हालसम्मकै सबैभन्दा बढी नेपाली श्रमिकले विदेशी भूमिमा मृत्युुवरण गरेको बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार विगत १० वर्षमा १२ हजारभन्दा बढीको विदेशमा मृत्यु भइसकेको छ । विगत ५ वर्षमा मात्र ६ हजार ७५ युवाले रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्षमा १४ सय ९२ नेपाली श्रमिकको विदेशमा ज्यान गएको थियो । यसैगरी गत आवमा ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएका थिए । औद्योगिक दुर्घटना, आत्महत्या, कार्डियक एरेस्ट, सडक दुर्घटना आदीका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेका विवरण धेरै आउने गरेको बोर्डका निर्देशक तथा प्रवक्ता भूपेन्द्र सापकोटा बताउँछन् ।
बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले रोजगारीका क्रममा विदेशमा मृत्यु हुने नेपालीको संख्या घटेको देखिँदैन । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तव्यमा मुलुकमा मृत्यु हुनेको संख्या घटेको देखिन्छ ।
३८ शव ल्याउन ढिलाइ 
अमेरिका–इरान–इजरायल यद्धले मध्यपूर्वमा तनाव भएका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान प्रभावित हुँदा शव ल्याउन ढिलाइ भएको बताए । उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ वटा शव नेपाल ल्याउन बाँकी छन् । नियमित उडान हुन थालेपछि ती शव नेपाल ल्याइने उनले बताए ।
मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेहरूको सोही देशमै उपचार भइरहेको छ ।
युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ
इजरायल, अमेरिका र इरानबीच जारी द्वन्द्वका विषयमा अफवाह फैलाउने श्रव्यदृश्य (भिडियो) सामग्री र तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा तीन–तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेका आक्रमणका तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा त्रास फैलाउने गरी पोस्ट गरेमा ती देशका कानुनअनुसार सजाय भोग्नुपर्ने व्यवस्था अनुसार उनीहरू पक्राउ परेका हुन् ।
‘पक्राउ परेका नेपाली नागरिकको अवस्था र उनीहरूलाई छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास तथा नियोगहरूसँग समन्वय भइरहेको छ । उनीहरूले कुन कानुन उल्लंघन गरेका हुन् र कति जरिबाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
मध्यपूर्वका मुलुकमा युद्धको प्रभावका कारण रोजगारी गुमाउनुपर्ने जोखिम तत्काल नरहेको पनि क्षेत्रीले बताए । मन्त्रालयले सञ्चालन गरेको ‘कल सेन्टर’ मा नेपाली नागरिकले उडानको अवस्था, घर फर्किने प्रक्रिया र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका छन् । ‘अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन् । असुरक्षित महसुस गर्नेहरूको संख्या बिस्तारै कम हुँदै गएको छ र धेरैले सुरक्षित भएर उतै काम गर्ने इच्छा देखाएका छन् । ट्रान्जिटमा परेकाहरूको उद्धार लगभग पूरा भइसकेको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल