नेभिगेशन
अर्थतन्त्र

मध्य भोटेकोशीको परीक्षण उत्पादन सुरु, राष्ट्रिय प्रसारणमा १०२ मेगावाट थपिने

काठमाडौं, १६ भदौ - सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको मध्य भोटेकोशी जलविद्युत् कम्पनीले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको हो ।

निर्माण थालेको १२ वर्षपछि बल्ल आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । सोमबार आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण गरिएको प्रवर्द्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले बताए ।

‘भदौ १३ गतेदेखि नै आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको परीक्षण कार्य सुरु भएको थियो,’ उनले भने, ‘सोमबारदेखि भने आयोजनाको विद्युत् नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण गरेका छौ ।’ उनले पहिलो दिन आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गरिएको बताए । 

आयोजनाले उत्पादन गरेको विद्युत् विद्युत्गृहबाट ४० किलोमिटर दुरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा लगेर जोडिएको छ । सुरुवातमा यो आयोजना बाह्रबिसे सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता भएको थियो । तर, यो सबस्टेसन समयमा सम्पन्न हुन नसकेपछि न्यू खिम्ती सबस्टेसनमा लगेर जोडिएको उनलेजानकारी दिए ।

शिवाकोटीका अनुसार अब विद्युत् प्राधिकरणको प्राविधिक टोली आयोजना स्थलमा पुगेर परीक्षण गरेपछि सबै युनिटबाट परीक्षण उत्पादन सुरु गरिनेछ । ‘अहिले सुरुवाती चरणको परीक्षण उत्पादन चलिरहेको छ । भदौ २३ गतेसम्म परीक्षण चल्नेछ । त्यसपछि पनि २
सातासम्म पूर्ण क्षमतामा परीक्षण उत्पादन गरेपछि मात्रै व्यापारिक उत्पादन सुरु गर्छौ,’ शिवाकोटीले भने ।

भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थित चाकुमा यो आयोजनाको बाँध र बाह्रबिसे नगरपालिकाको जम्बुमा विद्युतगृह निर्माण गरिएको छ । आयोजनाको मुख्य सुरुङ ७.५ किलोमिटर लामो छ । 

२०७१ साउनमा आएको जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमा नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्य भोटेकोशीको निर्माण प्रभावित हुँदा सम्पन्न हुन १२ वर्ष लागेको हो ।

आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । यो आयोजना ब्याज सहित प्रतिमेगावाट २२ करोड रुपैयाँ अनुमानित लागतमा सम्पन्न भएको शिवाकोटीले बताए ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक २२ अर्ब ४४ करोड रुपैयाँ पुग्ने देखिएको छ । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्राइभेट लिमिटेडको १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

४९ प्रतिशत साधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत शेयर) छ । कम्पनीले साधारण शेयर निस्कासन गरी रकम संकलन गरिसकेको छ ।

कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४.८० मा खरिद गर्ने छ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्