नेभिगेशन
नेपाल
मन्त्रिपरिषद्को निर्णय

अब सातामा दुई दिन बिदा

शनिबार–आइतबार बिदा, कार्यालय समय ९–५, नयाँ शैक्षिक सत्र वैशाख १५ देखि

काठमाडौं । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आइतबार यस्तो निर्णय गरेको हो । 
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र सार्वजनिक निकायको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको छ । यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म रहनेछ ।
गृह मन्त्रालयले उक्त निर्णय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । शिक्षा क्षेत्रतर्फ, सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । यस निर्णयले वातावरण संरक्षण तथा ऊर्जा विकल्पको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्ले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर र एसियाली विकास बैंकबाट उपलब्ध हुने ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्