काठमाडौं (संवाददाता) – सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) र सुदूरपश्चिम प्रदेश सरकारबीच सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी तथा विकास सम्मेलन केन्द्रित महत्वपूर्ण छलफलका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानीका लागि आग्रह गरेका हुन् ।
काठमाडौंस्थित परिसंघको सचिवालयमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहले निजी क्षेत्रलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गर्दै प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक पूर्वाधार तथा कानुनी सुधार गर्न प्रतिबद्ध रहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएका क्षेत्रमा लगानीको अपार अवसर रहेको उल्लेख गर्दै उद्योग स्थापनाका लागि आवश्यक जग्गा तथा पूर्वाधार प्रदेश सरकारले सुनिश्चित गरिदिने आश्वासन दिए ।
‘उद्योगका लागि कति जग्गा चाहिन्छ भन्नुहोस्, प्रदेश सरकारले उपलब्ध गराउँछ,’ उनले भने, ‘बाटो, पानी, बिजुली लगायत पूर्वाधार बनाइदिन्छौं, तपाईंहरूले लगानी गर्नुहोस् ।’ उनले संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकार तथा सबै राजनीतिक दलहरू लगानीमैत्री कानून निर्माणमा एकमत रहेको उल्लेख गरे । प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारीमा अघि बढ्न इच्छुक रहेको उनले दोहोर्याए ।
छलफल कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको भन्दै लगानीमैत्री वातावरण, कानुनी तथा नीतिगत स्पष्टता आवश्यक रहेको बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यक्तिगत रूपमा जग्गा खरिद गरी उद्योग स्थापना गर्न असहज हुने स्पष्ट पार्दै प्रदेश सरकारले जग्गा उपलब्ध गराउने र प्रक्रिया सहज बनाउने हो भने लगानीकर्ताले चासो देखाउने बताए ।
त्यस्तै, परिसंघका उपाध्यक्ष राजबहादुर शाहले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै सम्मेलन सफल बनाउन आवश्यक समन्वयमा परिसंघ सधैं तयार रहेको बताए । उनले लगानीकर्ताका लागि कानुनी, प्रशासनिक र नीतिगत सहजता प्रदेश सरकारले सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू, पूर्वमन्त्रीहरू, सांसदहरू, प्रमुख सचिव तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो। त्यस्तै, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय परिषद् सदस्यहरू, उद्योगी– व्यवसायीहरू र परिसंघका महानिर्दे शक डा. घनश्याम ओझा लगायत सहभागी थिए ।
सुदूरपश्चिम प्रदेश सरकार र निजी क्षेत्रबीचको यस्तो समन्वयले प्रदेशमा दीर्घकालीन तथा प्रभावकारी लगानी भित्र्याउने अपेक्षा गरिएको छ ।