नेभिगेशन
अर्थतन्त्र

बैंकिङ समूहले बढायो शेयरबजार

काठमाडौं, १६ भदौ - बैंकिङ समूहमा लगानीकर्ता आकर्षित हुँदा सोमबार शेयरबजारमा वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो । सूचक बढे पनि कारोबार रकम घटेको छ ।

आइतबार ६ अर्ब बढी कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५१ कम्पनीमध्ये १४३ वटाको शेयरमूल्य बढेको छ भने १०६ वटाको घटेको
छ । बाँकी दुईवटाको स्थिर रहेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ०.७९ प्रतिशत बढेर ४७६.३८ विन्दुमा कायम भएको छ ।

साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ०.६२ प्रतिशत बढेर १८९.१० र सेन्सिटिभ फ्लोट ०.९२ प्रतिशत बढेर १६३.०३ विन्दुमा पुगेको छ । केही वाणिज्य बैंकले राम्रो लाभांश वितरण गर्न सक्ने देखिएपछि लगानीकर्ता त्यसतर्फ आकर्षित भएका छन् । बैंकिङ समूह सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ ।

सूचीकृत १९ वटै वाणिज्य बैंकको शेयरमूल्य बढेको छ । सबैभन्दा धेरै स्टाण्डर्ड चार्टर्डको शेयरमूल्य ४.०८ प्रतिशत बढ्यो । सूचीकृत १३ समूहमध्ये व्यापार र अन्यबाहेक सबै समूह बढेका छन् । बैंकिङ पछि विकास बैंक समूह ०.५२ प्रतिशत, होटल तथा पर्यटन ०.४३, उत्पादन तथा प्रशोधन प्रमुख विवरण ०.३६, निर्जीवन बीमा ०.३०, लघुवित्त ०.२७, लगानी ०.१८, म्युचुअल फण्ड ०.१६, फाइनान्स ०.१४ र जलविद्युत ०.०८ प्रतिशत बढेको छ । जीवन बीमा समूह ०.५९ अंकले बढेको छ ।

बैंकिङ समूहमा आकर्षण बढीदेखिए पनि सबैभन्दा धेरै हिमस्टार ऊर्जा कम्पनीको शेयरमूल्य ६.०७ प्रतिशत बढेको छ । सर्वाधिक मूल्यबढ्ने पाँच कम्पनीमा हिमस्टारसँगै स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, महिला लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६८ प्रतिशतले घटेको छ । सर्वाधिक मूल्य घट्ने कम्पनीहरूमा उन्नतिसँगै विकास हाइड्रोपावर कम्पनी, पियोर इनर्जी, पिपल्स पावर र नारायणी विकास बैंक रहेका छन् ।

नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २८ करोड ८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि एभरेष्ट बैंकको २४ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ८१ लाख, नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २० करोड ९५ लाख र कुमारी बैंकको १७ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यसदिन लगानीकर्ताको सम्पत्ति २२ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै साधारण शेयरतर्फको बजार पुँजीकरण पनि १२ अर्ब रुपैयाँ बढेर १५ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ ।

यसअघि दुई कारोबार दिन घटेको बजार सोमबार बढेको र बैंकिङ समूहमा लगानीकर्ता आकर्षित भएकाले बजारप्रति लगानीकर्ता सकारात्मक रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन् । यद्यपी बजारमा अझै पनि लगानीकर्ता सक्रिय रुपमा लाग्न नसक्दा कारोबार रकममा भने दबाब परेको देखिन्छ ।

सूचीकृत अधिकांश कम्पनीहरूले दशैं अघि नै लाभांश वितरण गर्न सक्ने भएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । वाणिज्य बैंकहरूले पनि लाभांश वितरण गर्न शुरु गरिसकेका छन् । यसले लगानीकर्तालाई शेयरबजारमा आकर्षित गरिरहेको छ । त्यसको असर सूचकमा देखिन थालेको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्