नेभिगेशन
अर्थतन्त्र

इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने अवसर प्रदान गर्दै सरकार

काठमाडौं । सरकारले आइतबार पेट्रोल तथा डिजेलबाट चल्ने गाडीलाई उपभोक्ताले विद्युतीयमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय ग¥यो । नीतिगत सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सरकारको निर्णयले देशभरमा अहिले चलिरहेका पेट्रोलियम (पेट्रल÷डिजेलबाट चल्ने) गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न बाटो खुलेको छ । 
पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिसँगैको बढ्दो व्यापार घाटाका कारण पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा आउन लागेको संकटका कारण दबाब महसुस गरेको सरकारले पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने कानूनी रूपमा बाटो खुलाएको हो । मध्यपूर्व क्षेत्रमा भइरहेका युद्ध र तनावका कारण उत्पन्न पेट्रोलियम ऊर्जाको संकटले नेपालजस्तो आयातमा निर्भर हुनुपर्ने देशलाई गम्भीर आर्थिक संकट परिरहेको छ ।
मध्यपूर्वको युद्ध लम्बिँदै जाँदा पेट्रोलियम ऊर्जाको संकट अझै गहिरिँदै जाने अवस्था देखिएकाले पनि उपभोक्ताहरू आफैं विद्युतीय सवारीसाधनको विकल्प खोजिरहेका छन् । यो कुरालाई अहिले विद्युतीय सवारीसाधनका शोरूमहरूमा देखिएको भीडले पनि पुष्टि गर्छ । तर, पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनलाई प्राविधिरूपमा विद्युतीयमा रूपान्तरण गर्न सम्भव भए पनि कानूनी व्यवस्था नहुँदा समस्या थियो ।
सरकारको निर्णयले भएकै सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न चाहानेहरूका लागि बाटो सहज बनाइदिएको छ । नयाँ विद्युतीय सवारीसाधनको खरिद बढिरहेको भए पनि अहिले चालु अवस्थामा रहेका पेट्रोलियम गाडीलाई पनि विद्युतीयमा रूपान्तरण गर्न इच्छुक उपभोक्ताले हिजोको दिनमा कानूनी प्रावधान नहुँदा यसो गर्न सकेका थिएनन् ।
अहिले मध्यपूर्वमा जारी इरान, इजराइल–अमेरिका युद्धको चपेटामा कच्चा तेल उत्पादन गर्ने खाडी देशहरू नै परेकाले विश्व बजारले पेट्रोलियम ऊर्जाको संकट झेलिरहँदा नेपाललाई भने देशकै स्वच्छ विद्युतीय ऊर्जाको खपत बढाउने अवसर आएको सरोकारवालाहरू बताउँछन् । नेपाल स्वच्छ ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले पनि बर्खाको विद्युत् खेर फाल्नुको सट्टा विद्युतीय सवारीसाधनका लागि खपत वृद्धि गर्न सकिने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।
पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने अहिले उपयुक्त अवसर भएको र सरकारको आन्तरिक विद्युत् खपत १३ हजार ५ सय मेगावाट पु¥याउने लक्ष्य पूरा गर्न यो कदम सहयोगी हुने उनको भनाइ छ । ‘सरकारले सन् २०३५ सम्ममा विद्युत उत्पादन २८ हजार ५०० मेगावाट तथा खपत १३ हजार ५०० मेगावाट पु¥याउने घोषणा गरेको छ,’ उनले भने, ‘अहिले चालु अवस्थाका पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने अवसरको उपयोग गरेर महँगो पेट्रोलियम आयात प्रतिस्थापन गर्न सकिन्छ ।’
विद्युतीय यातायातको क्षेत्रमा काम गर्दै आएको निजी क्षेत्रले हाल सञ्चालनमा रहेका पेट्रोलियम इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीतिगत व्यवस्था गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि बल्ल सुनुवाई भएको सुन्दर अटो इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापा बताउँछन् । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गर्नु केवल प्राविधिक सुधार मात्र नभई वर्तमान विश्व परिवेशसँग जोडिएको दूरदर्शी रणनीतिक कदम भएको उनले बताए ।  
‘सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यो निर्णय केवल नीतिगत परिवर्तन मात्र नभई नेपालको ऊर्जा, अर्थतन्त्र र वातावरणीय भविष्यसँग प्रत्यक्ष जोडिएको ऐतिहासिक कदमका रूपमा लिन सकिन्छ । यसलाई बुझ्दा विगतका प्रयासहरू, निजी क्षेत्रको भूमिका, र कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई पनि समग्र रूपमा विश्लेषण गर्न आवश्यक हुन्छ ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल काठमाडौं महानगरपालिकामा पूर्वाधार विज्ञको रूपमा रहँदा समेत पटक–पटक पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न सकिने विषयमा छलफल भएकाले अहिले उनी नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा आएपछि नीतिगत निर्णय भएको उनी बताउँछन् ।
मन्त्रिपरिषदले पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीतिगत निर्णय गरेको भए पनि सम्बन्धित मन्त्रालय तथा विभागका कर्मचारीका कारण कार्यान्वयन हुनेमा अझै पनि आशंका रहेको थापा बताउँछन् । ‘अहिलेका यातायातमन्त्री लम्साल स्वयं प्राविधिक पृष्ठभूमिबाट आउनुभएको र काठमाडौं महानगरमा हुँदा पूर्वाधारसम्बन्धी जिम्मेवारी सम्हालिसक्नु भएकाले अहिले मन्त्रिपरिषदमा लगिएको उहाँकै प्रस्तावमा निर्णय आएको हो । यो निर्णय परिणाममुखी हुने अपेक्षा बढेको छ तर प्रश्न सधैं कार्यान्वयनमा उठ्ने गरेको छ,’ उनले भने ।
सरकारी निर्णय कार्यान्वयन हुँदा आन्तरिक विद्युत् खपत बढाउन सकिनेछ । अहिलेको विद्युतको उच्च माग २ हजार मेगावाट हाराहारीमा मात्रै रहेकाले भएका पेट्रोलियम गाडी विद्युतीयमा रूपान्तरण हुँदा आन्तरिक खपत बढाउन योगदान पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशन दीर्घायुकुमार श्रेष्ठ विद्युत उत्पादनको तुलनमा विद्युतको उच्च माग खासै नबढेकाले विद्युतीयमा रूपान्तरण हुने सवारीसाधनका लागि विद्युत आपूर्ति व्यवस्थापनमा खासै समस्या नहुने बताउँछन् ।
‘विद्युतीय गाडी प्रवर्धन गर्नकै लागि भनेर प्राधिकरणले पनि देशभरमा दर्जनौं चार्जिङ स्टेसनहरू बनाएको छ,’ उनले भने, ‘निजी क्षेत्रबाट समेत व्यवसायिकरूपमा चार्जिङ स्टेसनहरू बनेको हुँदा पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गरेर चलाउँदा आन्तरिक विद्युत खपत परिमाण बढाउन सकिन्छ ।’ बढ्दो मूल्यवृद्धिले पेट्रोलियम आपूर्ति व्यवस्थापनमा समस्या हुन थालेपछि नेपाल आयल निगमले पनि विद्युतीय सवारीसाधनको विकल्पमा जान उपभोक्तालाई आग्रह गर्दै आएको छ ।

अहिलेसम्म भएको अभ्यास 
पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने अभ्यास नेपालका लागि नयाँ विषय होइन । विगत ६ वर्षदेखि नै पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने अभ्यास हुँदै आएको छ । सरकारले विगतमा राजपत्रमार्फत तीन वर्षभित्र पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न अनुमति दिएको थियो । यही आधारमा केही दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण पनि भए । तर, यातायात व्यवस्था कार्यालयले रूपान्तरण गरिएका सवारीसाधनलाई आधिकारिकरूपमा दर्ता गर्न नमान्दा सहजरूपमा सरकारको निर्णय कार्यान्वयन हुन सकेन ।
‘सरकारले त पहिले पनि निर्णय गरेर पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने बाटो खुल्ला गरिदिएको थियो । तर, यातायात व्यवस्था कार्यालयले विद्युतीयमा रूपान्तरण भएको पेट्रोलियम गाडीको ब्लुबुकमा यो कुरा लेखिदिन अस्विकार गरेपछि सवारीधनीहरू कानूनी अन्योलमा परेकाले समस्या भयो,’ उनले भने ।
ब्लुबुकमा उल्लेख नभएपछि दुर्घटना वा बीमासम्बन्धी समस्या आउँदा त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्टता नहुँदा धेरै सवारी धनीले इच्छा हुँदा हुँदै पनि पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न हिच्किचाएको थापाले बताए । थापाका अनुसार राजपत्रमा आएको व्यवस्था अनुसार कानूनी अड्चनकै कारण ६० भन्दा बढी पेट्रोलियम गाडी विद्युतीयमा रूपान्तरण हुन नसकेको उनको अनुभव छ । अहिलेसम्म करिब वटा सवारीसाधन मात्र रूपान्तरण भएको तथ्यांकले पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दा आउने चुनौतीलाई देखाउँछ भने स्पष्ट नीति र कानूनी सुनिश्चितता भएमा यो संख्या छोटो समयमै सयौंमा पुग्न सक्ने सम्भावना पनि देखिएको छ ।
अहिले तत्कालै ५०० भन्दा बढी सवारी धनीहरू रूपान्तरण गर्न इच्छुक रहेको तर उनीहरू कानूनी स्पष्टताको प्रतीक्षामा रहेको थापा बताउँछन् । सुन्दर अटो इन्जिनियरिङ लगायतका संस्थाहरूले आफ्नै पहलमा पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गरेर व्यवहारमै परीक्षण गरिसकेको थापा बताउँछन् । अहिलेसम्म गरिएको पेट्रोलियम गाडी विद्युतीयमा रूपान्तरणको प्रयास प्राविधिकरूपमा मात्र नभई व्यवसायिकरूपमा पनि सफल देखिएको उनको भनाइ छ ।  
‘हामीले विगतमा नै दुई पाङ्ग्रे, चार पाङ्ग्रे मात्र नभई ठूला सवारीसाधनहरूलाई समेत विद्युतीयमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइसकेका छौं, यसले नेपाली प्राविधिक दक्षता र सम्भावनालाई स्पष्ट रूपमा प्रमाणित गरिसकेको छ । अब सरकारको नीतिले हजारौं गाडी रूपान्तरण सहजै हुनेछ भन्ने आशा जागेको छ,’ उनले भने । नेपालमै सवारीसाधन रूपान्तरण सम्भव छ भन्ने कुरा प्रमाणि भइसकेको छ । अब यसलाई कानूनी मान्यता दिनु आवश्यक भएको थापा बताउँछन् ।
पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गरेर सञ्चालन गर्दा उपभोक्ताको सञ्चालन खर्चमा कमी आउनुका साथै आयातित पेट्रोलियम पदार्थ प्रतिस्थापन भई विदेशिने अर्बौं रुपैयाँ जोगाउन सकिन्छ । साथै, सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा जान सरकारले गरेको घोषणा कार्यान्वयनमा पनि योगदान पुग्नेछ । यसबाट सबैभन्दा ठूलो फाइदा नेपालको अर्थतन्त्रमा हुनेछ ।
नेपालले हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गर्दै आएको छ । सवारीसाधनहरूलाई क्रमशः विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सकियो भने यो खर्च उल्लेखनीयरूपमा घटाउन सकिन्छ । नेपालमा उत्पादित जलविद्युत् ऊर्जाको अधिकतम उपयोग गर्न सकिने हुँदा ऊर्जाको आत्मनिर्भरता बढाउने मात्र नभई दीर्घकालीन रूपमा व्यापार घाटा कम गर्न पनि सहयोग पु¥याउनेछ ।
वातावरणीय दृष्टिले पनि यो परिवर्तन अत्यन्त महŒवपूर्ण छ । काठमाडौंजस्ता सहरहरूमा वायु प्रदूषण गम्भीर समस्याका रूपमा देखिएको छ । पेट्रोलियम सवारीसाधनको धुवाँले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दा यस समस्यालाई उल्लेखनीयरूपमा कम गर्न मद्दत गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्