नेभिगेशन
प्रदेश

वडाध्यक्ष भतिजसँगै एसइई दिँदै

केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त

सल्यान । पढाइका लागि कुनै उमेर बन्देज हुँदैन र ढिलो उमेरमा पढ्नु हुँदैन भन्ने धारणालाई गलत सिद्ध गर्दै जीवनको उत्तरार्धमा पढाइ सुरु गर्ने अनेकौं उदाहरणमा सल्यानका वडा अध्यक्ष सुदीप केसी पनि थपिएका छन् । ४० वर्षका केसीले अहिले भतिजसँगै एसइई परीक्षा दिइरहेका छन् ।
सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएर माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका हुन् । ४० वर्षको उमेरमा उनले दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट यस वर्षको एसइई दिइरहेका छन् ।
२०६२ सालमा कक्षा १० सम्म अध्ययन गरेका केसीले पारिवारिक समस्या र जिम्मेवारीका कारण पढाइ बिचमै छोड्नुपरेको थियो । ‘पढ्ने इच्छा सधैं थियो तर परिस्थितिले साथ दिएन,’ उनले भने, ‘अहिले फेरि हिम्मत गरेर विद्यालय भर्ना भएँ र एसइई दिइरहेको छु ।’
परीक्षामा सहभागी हुन पाउँदा ठूलो उपलब्धि हासिल गरेझै भएको उनको अनुभव छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिँदा खुसी लागेको उनले बताए । वडा अध्यक्ष केसी परीक्षा केन्द्रमा पुगेपछि विद्यार्थीहरूमा पनि उत्साह थपिएको देखिएको छ । ‘वडा अध्यक्ष पनि हामीजस्तै परीक्षा दिनुभएको छ भन्ने सुनेर विद्यार्थीहरू झन् प्रेरित भएका छन्,’ उनले मुस्कुराउँदै भने ।
उनका आफ्नै छोरा–भतिजा समेत सोही केन्द्रबाट परीक्षा दिइरहेका छन् । परीक्षा अनुभव सन्तोषजनक रहेको बताउँदै उनले ‘पढाइ उमेरले होइन, इच्छाले हुन्छ’ भन्ने महसुस भएको बताए ।
एसइईपछि पनि थप पढ्ने उनको योजना छ । ‘११ र १२ कक्षा पढ्ने इच्छा छ । हेरौ के हुन्छ तर सकेसम्म पढ्ने नै सोच छ,’ उनले भने ।
यसअघि पनि जनप्रतिनिधिले एइई परीक्षामा सामेल भएपिछ चौतर्फी चर्चा भएको थियो । आज भन्दा दुई वर्ष अघि २०८० सालमा म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई उत्तीर्ण गरेको थिए । २०५८ सालमा मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छोडेका थिए । सोही साल बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा दिएका थिए । शेषले ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका थिए ।
अज्ञानताको अन्धकार जतिसुकै पुरानो किन नहोस्, ज्ञानको सानो ज्योतिले त्यसलाई क्षणभरमै हटाउँछ भन्ने ज्ञानको महत्वलाई उजागर गर्ने विश्वमा धेरै उदाहरण छन् । नायिका करिश्मा मानन्धरले पनि जीवनको उत्तराद्र्धमा स्कुलमै भर्ना भएर एसइई परीक्षा दिएको थिइन् । उनले औपचारिक शिक्षाको महत्वलाई आत्मसात् गरेर पढ्न थालेको कुरालाई धेरैले सकारात्मक रुपमा लिएका थिए ।

केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त
जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तोकिएको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावल पदमुक्त भएका छन् । तातोपानी गाउँपालिका–५ स्थित सो केन्द्रका केन्द्राध्यक्ष शर्मा र निरीक्षक एकैसाथ पदमुक्त भएका हुन् ।
गत बिहीबार भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापर्बाही गरेको भन्दै निजहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो । नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएकोशिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख रछाने लोहारले बताए ।
उनका अनुसार पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनियो । दोस्रो पटक गन्दा भेटियो भनियो । सो घटनाको छानबिनका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोहार नेतृत्वको टोली परीक्षा केन्द्रमा नै  पुगेको थियो । छानबिनका क्रममा एक पटक गन्दा नभेटिएको उत्तरपुस्तिका दोस्रो पटक गन्दा लट्पटिएको अवस्थामा भेटिएको भन्ने सुनियो । उत्तरपुस्तिका हराउनु र भेटिनुकोबिचमा ठुलो लापर्बाही देखिएकाले परीक्षा अवधिभर परीक्षा केन्द्रमा जान नपाउने गरेर उहाँहरूलाई पदमुक्त गरिएको हो । लोहर नेतृत्वको टोलीले बिहानैदेखि मुचुल्का गरेर ७ नम्बर लाहछाप लगाएको उत्तरपुस्तिकाको पोको लाम्रा प्रहरी चौकीका प्रमुख र सशस्त्र प्रहरी बलका एसपी देवबहादुर बोहोराको रोहवरमा खोलेर हेरेको थियो ।
हराएको भनिएको उत्तरपुस्तिका भेटियो तर केन्द्रमा लापर्बाहीका कारणले यो समस्या आएको भन्दै केन्द्राध्यक्षलाई पदमुक्त गर्ने निर्णय भएको जानकारी लोहारले बताए । केन्द्राध्यक्ष शर्मा र सो दिनको परीक्षामा कोठा नं. ५ मा निरीक्षकका रूपमा रहेका शिक्षकलाई समेत पदमुक्त गरिएको छ । उत्तरपुस्तिकाको वास्तविक अध्ययन गर्दा थप उत्तरपुस्तिका हालेको देखिएन तर उही उत्तरपुस्तिका गोलमोटल राख्नु पनि गलत भएको निष्कर्ष टोलीले निकालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश