नेभिगेशन
विश्व

ढाकामा पूर्वसभामुख शिरिन शर्मिन चौधरी पक्राउ

ढाका (एएनआइ÷रासस)– बंगलादेशको राष्ट्रिय संसद्की पूर्वसभामुख शिरिन शर्मिन चौधरी पक्राउ परेकी छन् । उनलाई सोमबार राति ढाकाको धानमन्डीस्थित निवासबाट पक्राउ गरेको अधिकारीहरूले मंगलबार पुष्टि गरेका छन् ।
उनलाई ढाका मेट्रोपोलिटन पुलिसको डिटेक्टिभ शाखाले पक्राउ गरेको हो । शाखाका अतिरिक्त आयुक्त शफीकुल इस्लामले फोनमा एएनआईलाई भने, ‘हामीले पूर्वसभामुख चौधरीलाई पक्राउ गरेका छौंं ।’ तर अपरेसनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।     
अधिकारीहरूले चौधरीमाथि अहिलेसम्म कुनै विशेष आरोप वा मुद्दा औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्, जसले उनको गिरफ्तारीको परिस्थितिमा अनिश्चितता थपेको छ ।
चौधरी अवामी लिगसँग सम्बन्धित वरिष्ठ नेता हुन् । पूर्वप्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सरकारले पतन भएपछि सेप्टेम्बर २, २०२४ मा सभामुखको पदबाट राजीनामा दिएकी थिइन । सन् २००८ को आम निर्वाचनपछि अवामी लिगले सरकार गठन गरेपछि उनको राजनीतिक करियर उल्लेखनीय ढंगले अघि बढेको थियो । सुरुमा अब्दुल हमिद संसद्को सभामुख थिइन । तर उनी राष्ट्रपतिको पदमा अघि बढेपछि चौधरी ३० अप्रिल २०१३ मा सभामुख नियुक्त भइन । उनले लगातार कार्यकाल सम्हालेकी थिइन । देशको संसदीय इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा दिने सभामुखमध्ये एक हुन् ।
जुलाई २०२४ मा भएको सामूहिक विद्रोहका क्रममा रंगपुरमा मुस्लिम मजदुर उद्दीनको घातक गोली हानाहानसँग सम्बन्धित कानूनी कारबाहीका सिलसिलामा उनी अनुसन्धानको दायरामा परेको बताइएको छ । उक्त घटनामा पूर्ववाणिज्यमन्त्री टिपु मुन्सीसहित १७ जनाविरुद्ध २७ अगस्ट २०२४ मा हत्या उजुरी दर्ता भएको थियो ।
टिपु मुन्सी यस मामिलामा पहिल्यै पक्राउ परेर न्यायिक हिरासतमा छन् । चौधरीको गिरफ्तारी सोही मुद्दासँग प्रत्यक्ष सम्बन्धित छ वा अन्य अनुसन्धानसँग जोडिएको छ भन्ने अधिकारीहरूले स्पष्ट पारेका छैनन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्