मुस्ताङ, १६ भदौ - यसवर्ष मुस्ताङमा दशैं लक्षित भेडाच्यांग्रा पन्ध्र हजारको संख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो संख्यामा भेडाच्यांग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरेको हो ।
प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर संख्यामा भेडाच्यांग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले बताए ।
गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको संख्यामा दशैँ लक्षित भेडाच्यांग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । उनका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्यांग्रा बाहिरिएको थियो । गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कुल १२ हजार बढी च्यांग्रा निकासी भएको उनले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांकअनुसार पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्यांग्रा र बाख्राको संख्या रहेको छ । मुस्ताङमा च्यांग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा अर्यालले बताए ।
लोमान्थाङ गाउँपालिकामा च्यांग्रा १४ हजार ३९८ र भेडा एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्यांग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्यांग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्यांग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार उक सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ ।
मुस्ताङमा सबै भन्दाबढी च्यांग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको संख्यामा भेडाच्यांग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो । यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्यांग्रा दशैं तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा अर्यालले बताए ।
उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको संख्यामा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताए । यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्यांग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्यांग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ ।
मुस्ताङको उत्पादन र डोल्पाबाट भित्रिने भेडाच्यांग्रा गरी करिब २० हजार बढी भेडाच्यांग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा अर्यालको दाबी छ । गतवर्ष मुस्ताङमा प्रतिच्यांग्रा २८ हजारदेखि ३५ हजार मूल्यमा बिक्री गरिएको थियो ।
आवश्यक प्रक्रिया पुगे तिब्बतबाट च्यांग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्यांग्राका पाठापाठी भित्रिएको बताए । उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्यांग्रा नभित्रिएको
जानकारी दिए ।
‘भेडाच्यांग्रा आयात गर्नमा कुनै समस्या छैन, ब्यापारीले चीनबाट पशु क्वारेन्टाइन रिपोर्ट लिएर आउनु पर्यो,’ निमित्त प्रमुख राईले भने, ‘तिब्बतबाट भित्रिएका भेडाच्यांग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौँ ।’ निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेन्टाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले वैधता प्रदान गर्ने बताए ।