नेभिगेशन
अर्थतन्त्र

एनपीएल–२ को आम्दानी नौ करोड २१ लाख

पहिलोका तुलनामा एनपीएल–२ मा सबै खर्च कटाएर नेपाल क्रिकेट संघलाई नाफ बढेको छ । पछिल्लो संस्करणमा नौ करोड २१ लाख रुपैयाँ आम्दानी भएको हो ।  संघ केन्द्रीय कार्यसमितिले सोमबार बसेको बैठकमा नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आयव्यय विवरण अनुमोदन गरेको छ । बैठकले क्यानको सचिव पारस खड्काको संयोजकत्वमा रहेको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको आर्थिक विवरण पारित गरेको हो । बैठकमा संघका उपाध्यक्षसहित आधा दर्जन बढी केन्द्रीय सदस्य उपस्थित थिएनन् ।
संघका अनुसार एनपीएल–२ मा आम्दानी ४७ करोड ३६ लाख ५५९ रुपैयाँ भएको छ भने खर्च २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ भएको छ । खर्च कटाएपछि करिब २५ करोड ३९ लाख रुपैयाँ राजस्व बाँकी छ । यसमध्ये ८ फ्रेन्चाइज टोलीलाई १६ करोड १८ लाख रुपैयाँ वितरण गरिनेछ भने क्यानको आफ्नै आम्दानी ९ करोड २१ लाख रुपैयाँ रहनेछ ।
पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणबाट क्यानले ६ करोड ७४ लाख बढी खुद मुनाफा हासिल गरेको छ । पहिलो संस्करणमा क्यानको आम्दानी २७ करोड ६९ लाख रुपैयाँ थियो भने खर्च २० करोड १५ लाख रुपैयाँ थियो ।
बैठकले महिला क्रिकेटको विकासका लागि वार्षिक ५ लाख अमेरिकी डलर बजेट छुट्याउने निर्णय पनि गरेको छ । निर्णयको उद्देश्य महिला क्रिकेटको स्तर उकास्नु र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्न सहयोग गर्नु रहेको छ । साथै, बैठकले २०८३ वैशाख २७–२८ गते विराटनगर, कोशी प्रदेशमा क्यानको वार्षिक साधारण सभा गर्ने, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्ने, र मुलपानी क्रिकेट मैदान राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतबाट क्यानलाई हस्तान्तरण गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
क्यानले चार वर्षे कार्यकाल सकिएका २० जिल्लाका कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप गर्ने र साधारण सभापछि निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्