नेभिगेशन
विश्व

२५औं संशोधनमार्फत ट्रम्पलाई हटाउन माग

वासिङ्टन डीसी  । संयुक्त राज्य अमेरिकाको राजधानीमा अमेरिकी संविधानको २५औं संशोधनको चर्चा फेरि सुरु भएको छ ।
हालका वर्षहरूमा सांसदहरूले संविधानमा उल्लेख भएअनुसार राष्ट्रपतिलाई पदमुक्त गर्ने यो प्रक्रियाको पटक–पटक चर्चा गर्दै आएका छन् । सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणपछि डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्ले धेरैले सोचेभन्दा बढी गम्भीरताका साथ यो विकल्पमाथि छलफल गरेको पाइएको थियो ।
ट्रम्पलाई सफलतापूर्वक हटाउनका लागि उनको मन्त्रिपरिषद्का बहुमत सदस्य र उपराष्ट्रपतिको समर्थन आवश्यक पर्दछ । अहिलेको अवस्थामा मन्त्रिपरिषद्का कुनै पनि अधिकारीले यसबारे सोचिरहेको वा उपराष्ट्रपति जेडी भान्स यसमा सहमत हुने कुनै संकेत देखिएको छैन । तर, इरानले सम्झौता नगरेमा ‘आज राति एउटा सिंगो सभ्यता समाप्त हुनेछ’ भनी ट्रम्पले मंगलबार बिहान दिएको अभिव्यक्तिपछि यो संशोधन लागू गर्न माग गर्नेहरूको संख्या बढ्दो छ । यसमा केही अप्रत्याशित व्यक्तिहरूको समूह पनि सामेल छ ।
इरानका लागि उनले तोकेको राति ८ बजेको समयसी सकिनु दुई घण्टाअघि, तेहरानले हर्मुज जलसन्धि खोल्ने शर्तमा ट्रम्पले दुई हप्ताको युद्धविराममा सहमति जनाएको घोषणा गरे ।
डेमोक्रेटिक सांसद र दक्षिणपन्थीहरूले अघिल्लो २४ घण्टा इरान युद्धमा राष्ट्रपति कुन हदसम्म जान सक्छन् भन्ने चिन्ता व्यक्त गर्दै बिताएका थिए । विद्युत् गृह र अन्य नागरिक पूर्वाधारमा आक्रमण गर्ने उनको धम्कीलाई युद्ध अपराध भन्दै निन्दा गरिएको छ । कतिपयले त सरकारको यो धम्कीले परमाणु हतियारको सम्भावित प्रयोगतर्फ संकेत गरेको भन्दै डरसमेत व्यक्त गरेका छन् । ह्वाइट हाउसले भने यस्तो सोच नभएको भन्दै खण्डन गरेको छ ।
यो संशोधन लागू गर्न माग गर्नेहरूमा मुख्यतया दर्जनौं डेमोक्रेटहरू छन् । यसमा इलिनोयका गभर्नर जे.बी. प्रिट्जकरजस्ता सम्भावित राष्ट्रपति पदका आकांक्षीहरूसमेत सामेल छन् । यो प्रक्रिया सुरु गर्न अहिले उनीहरूसँग कुनै शक्ति छैन । तर, उल्लेखनीय कुरा के छ भने केही अनुदारवादी र ट्रम्पका हालका सहयोगीहरूले समेत यो माग उठाएका छन् ।
षड्यन्त्र सिद्धान्तका ज्ञाता मानिने एलेक्स जोन्सले सोमबारको आफ्नो कार्यक्रममा अतिथिलाई सोधे, ‘हामी ट्रम्पलाई २५ औं संशोधनमार्फत कसरी हटाउन सक्छौं ?’
मंगलबार बिहानसम्म यो कदमको पक्षमा वकालत गर्ने दक्षिणपन्थीहरूमा कट्टर प्रभाव पार्ने व्यक्तिदेखि लिएर ट्रम्पकै पूर्व अधिकारी एन्थोनी स्कारामुची र केही नरमपन्थी ट्रम्पविरोधीहरू पनि देखिए ।
ट्रम्पले ‘इरानी सभ्यता समाप्त हुने’बारे पोस्ट गरेको करिब एक घण्टापछि जर्जियाकी रिपब्लिकन एवं पूर्व सांसद मार्जोरी टेलर ग्रीनले एक्स (ट्विटर) मा ‘२५औं संशोधन !’ भन्दै पोस्ट गरिन् । उनले ट्रम्पको कदमलाई ‘पाप र पागलपन’को संज्ञा दिइन् ।
कंग्रेसका केही डेमोक्रेटहरूले ग्रीनका शब्दहरूलाई पुनः पोस्ट गरे । ‘२५औं संशोधन लागू गर्न आवश्यक छ,’ दक्षिणपन्थी पोडकास्टर क्यान्डेस ओवेन्सले पछि थपिन् । ट्रम्पको पहिलो कार्यकालमा छोटो समय सञ्चार निर्देशक रहेका स्कारामुचीले ट्रम्पले परमाणु हमलाको धम्की दिइरहेको दाबी गर्दै उनलाई हटाउनुपर्ने पक्षमा वकालत गरे ।
‘ब्युँझनुहोस्ः उनले परमाणु हमलाको आह्वान गरिरहेका छन्,’ स्कारामुचीले भने, ‘तुरुन्तै उनलाई हटाउने प्रयास गर्नुहोस् ।’
मंगलबार बिहान ट्रम्पले परमाणु हमलाको आदेश दिन सक्ने संकेत गरेको भनी अनलाइनमा चर्चा चल्दा ह्वाइट हाउसले त्यस्तो कुनै कुरा नभएको भन्दै उपराष्ट्रपति जेडी भान्सले अस्वीकार गरे । उपराष्ट्रपतिले अहिलेसम्म प्रयोग नगरिएका केही ‘औजारहरू’ प्रयोग गर्नेबारे मात्र कुरा गरेको बताएका थिए ।
न्यू योर्क टाइम्सका स्तम्भकार डेभिड फ्रेन्चजस्ता केही ट्रम्पविरोधी अनुदारवादीहरूले पनि २५औं संशोधनको माग गरिरहेका थिए । ‘यो स्पष्टरूपमा २५ औं संशोधन प्रयोग गर्ने अवस्था हो, तर मानिसहरू यति संवेदनहीन भइसकेका छन् कि उनीहरूले यो देख्न सकिरहेका छैनन्,’ फ्रेन्चले भने ।
अन्य कतिपयले त्यति कडा माग नगरे पनि ट्रम्पको नियतप्रति नयाँ स्तरको चिन्ता व्यक्त गर्न थालेका छन् । तीमध्ये एक ट्रम्पका पूर्व सहयोगी टकर कार्लसन हुन्, जसले सोमबार आफ्नो कार्यक्रममा ट्रम्पको कडा आलोचना गरे । फक्स न्यूजका यी पूर्व प्रस्तोताले ट्रम्पले इरानमा आम विनाश निम्त्याउने गरी नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएर ‘युद्ध अपराध र नैतिक अपराध’ गरिरहेको बताए । उनले त ट्रम्प ‘एन्टिक्राइस्ट’ हुन् कि भन्ने संकेत समेत गरे ।
त्यस्तै मंगलबार, विस्कन्सिनका रिपब्लिकन सिनेटर रोन जोन्सन, जो कंग्रेसमा ट्रम्पका वफादार सहयोगी मानिन्छन्, उनले वाल स्ट्रिट जर्नललाई भने कि यदि ट्रम्पले नागरिक पूर्वाधार जस्ता क्षेत्रमा आक्रमण गरेमा ‘उनले मेरो समर्थन गुमाउनेछन् ।’ जोन्सनले त्यस्ता आक्रमणहरू वास्तवमै गैरकानुनी हुने संकेत गरे ।
यी सबैको अर्थ २५ औं संशोधन तत्काल लागू भइहाल्छ भन्ने होइन । यो प्रक्रिया निकै कठिन छ, जसमा ट्रम्पका निकै नजिकका मानिसहरूले उनी पदका लागि अयोग्य रहेको ठहर गरी उनको इच्छाविपरीत हटाउनुपर्ने हुन्छ । संयोगवश भान्स मंगलबार हङ्गेरीमा थिए र उनले ट्रम्पलाई फोन गरेर एक राजनीतिक ¥यालीलाई सम्बोधन गर्न लगाए ।
तर, ट्रम्पका पुराना सहयोगी र डेमोक्र्याटहरूबाट आएको यो दबाब आफैंमा महŒवपूर्ण छ । उनीहरूले ट्रम्पलाई अबका कदमहरू चाल्दा सावधानीपूर्वक सोच्न चेतावनी दिइरहेको देखिन्छ ।
हालको स्थितिलाई पहिलेको तुलनामा हेर्नु पनि सान्दर्भिक हुन्छ ।
जब ट्रम्पको पहिलो कार्यकालमा यो कुरा उठेको थियो, तब यो प्रायः डेमोक्रेटहरूको मात्र एजेन्डा थियो । जनवरी ६ पछि उनको मन्त्रिपरिषद्का केही सदस्यले यसबारे विचार गर्दा पनि त्यो गोप्य राखिएको थियो । उनीहरूले यसलाई कत्तिको गम्भीरताका साथ लिएका थिए भन्ने कुरा जनताले धेरै पछि मात्र थाहा पाएका थिए ।
आज, ट्रम्पका केही भर्खरका पूर्व सहयोगीहरूसमेत उनले के गर्लान् भन्ने डरले यति त्रसित छन् कि उनीहरू सार्वजनिकरूपमा नै उनलाई पदच्युत गर्न आह्वान गरिरहेका छन् । सीएनएन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्