नेभिगेशन
प्रदेश

मधेशमा पाठेघरको मुखको क्यान्सर परीक्षणमा बेवास्ता

जनकपुर । मधेशका महिलामा पाठेघरको मुखको क्यान्सर एक विकराल समस्याका रूपमा रहे पनि यसको उपचारमा भने स्थानीय तहको बेवास्ता देखिएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहट, महोत्तरी र सर्लाहीका महिलाको पाठेघरको मुखको क्यान्सको परीक्षणका उपलब्ध गराएको ५१ हजार परीक्षण सामग्री उपयोग नै नगरेको पाइएको छ । मन्त्रालयले ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि ५१ हजार ३०० को संख्यामा भीटीएम कीट (एचपीभी भाइरस परीक्षण कीट) उपलब्ध गराएको थियो । यी कीटहरूको प्रयोग गरी महिलाहरूमा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्न प्रत्येक पालिकामा दुई लाखका दरले बजेट र दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मीसमेत सरकारले उपलब्ध गराएको थियो । तर, मधेश प्रदेशका अधिकांश पालिकाहरूमा न त क्यान्सको परीक्षणका लागि शिविर सञ्चालन भए न त केन्द्र सरकारले पठाएको बजेट र जनशक्तिको नै सदुपयोग भयो ।
पालिकाहरूले यस कार्यक्रमलाई बेवास्ता गर्दै अधिकांश भीटीएम कीट स्टोरहरूमा थन्क्याएर राखेका छन् भने कतिपयले त प्रयोग नै नगरी फिर्ता पठाउन थालेका छन् । प्रदेशको महोत्तरी जिल्लाका लागि ७ हजार ६ सय ५०, सर्लाहीका लागि ८ हजार ५ सय र रौतहट जिल्लाका लागि ९ हजार ५ सय भीटीएम कीट पठाइएका थिए । प्रदेश आपूर्ति केन्द्रमा २५ हजार ६ सय ५० थप कीट पठाइएका छन् । जबकि, महोत्तरीको लोहरपट्टी नगरपालिकाले ५ सय भीटीएम कीट प्रयोग नै नगरी फिर्ता पठाएको छ । त्यसैगरी, एकडारा गाउँपालिकाले आफूसँग रहेका ४ सय कीटको प्रयोग नै नगरी सबै फिर्ता पठाएको जनाइएको छ । महोत्तरी गाउँपालिकामा रहेको ४ सय कीट पनि प्रयोगविहीन छन् । केही पालिकाहरूले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि केन्द्रबाट आएको दुई लाख बजेट अरू नै कार्यक्रममा खर्च गरेका छन् । भीटीएम कीट प्रयोगका लागि शिविर सञ्चालन नगरी उनीहरूले आएको रकम खर्च गरिसकेका छन् ।
‘पालिकाहरूले गम्भीर विषयलाई निकै हलुका रूपमा लिए,’ मातृ तथा नवशिशु शाखा मधेश प्रदेशकी प्रमुख प्रतिभा सिंह भन्छिन्, ‘निजी स्तरमा यदि एचपीभी परीक्षणका लागि यही भीटीएम कीटमार्फत जाँच गराइयो भने २० देखि २५ हजार रुपैयाँसम्म शुल्क पर्छ तर सरकारले निःशुल्क उपलब्ध गराइरहेको सेवालाई तदारुकताका साथ लागू गराउन स्थानीय तहको गम्भीरता देखिएन ।’
सर्लाही र रौतहटमा पनि हालसम्म सबै पालिकामा कीटको प्रयोग गरी जाँच हुन सकेको छैन । रौतहट जिल्लाका लागि पठाइएको ९ हजार ५ सय भीटीएम कीटहरू सबै पालिकाहरूमा वितरण भइसकेको र तीनवटा पालिकाहरू परोहा नगरपालिका, ईशनाथ नगरपालिका र यमुनामाई नगरपालिकामा महिलाहरूको पाठेघर स्क्रिनिङको काम पनि सम्पन्न भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी गराए । ‘अहिले तीनवटा पालिकामा काम भएको छ । तर, वैशाख महिनाको पहिलो सातासम्म सबै पालिकाहरूमा सक्ने गरी हामी लागिपरेका छौं । यसका लागि पालिकाहरूसँग सहकार्य भइरहेको छ,’ सिंहले बताए ।
‘पालिकाहरूसँगको समन्वयमा शिविरहरू सञ्चालनको तयारी भएको छ । हामी सबै कीट प्रयोग हुन्छ भन्नेमा विश्वस्त छौं,’ जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा बताउँछन्, ‘यस जिल्लाबाट कीट फिर्ता नजाओस् त्यसका लागि सक्दो काम भइरहेको छ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यसबाट प्रत्येक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । यो क्यान्सर रोकथाम गर्न सकिने रोग हो । यो रोगविरुद्धको खोप लगाएमा एचपीभी भाइरसको संक्रमण हुनबाट सुरक्षित हुन सकिन्छ । यो खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको अवस्थामा पु¥याएर निवारण गर्ने लक्ष्य लिएको छ, जसअनुसार यो रोगका नयाँ बिरामीप्रति एक लाख महिलाहरूमा प्रतिवर्ष ४ भन्दा कम संख्यामा सीमित राख्नु हो । यसका लागि सन् २०३० सम्म तीनवटा स्वास्थ्यसेवाको निश्चित गन्तव्य निर्धारण गरिएको छ, जसमा १० देखि १४ वर्ष उमेरभित्रका किशोरीहरूलाई यसविरुद्धको खोप दिने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने निर्धारण गरिएको छ । नेपालमा प्रत्येक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्