नेभिगेशन
प्रदेश

अवैध खानी बन्द गर्नुः गृहमन्त्री

पनौती । गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आज अनुगमन निरीक्षणका व्रmममा पनौती नगर क्षेत्रस्थित रोशी क्षेत्र पुग्दा खानी र क्रसर सञ्चालकहरुको भने भागाभाग भयो ।
गृहमन्त्री गुरुङले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्डविपरीतका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न सरोकारवाला निकायलाई निर्देशन दिएसँगै अब त्यहाँ वर्षौंदेखि प्रशासन र नियमनकारी निकायलाई बेवास्ता गर्दै आएका खानीहरुको भविष्य के हुने हो भन्ने आकलन गरिएको छ ।
सो क्षेत्रमा अत्यधिक गिट्टी–बालुवा उत्खननका कारण बाढीपहिरो गएको र यसको रोकथाममा भने कोही अग्रसार नभएको भन्दै गृहमन्त्रीद्वारा चासो व्यक्त भएको हो । ‘पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गरे म कडाइसाथ रोक्छु, अन्य पनि वैध अवैध तत्कालै छानबिन हुन्छ,’ गृहमन्त्री गुरुङले भने ।
मापदण्डविपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएको उनको तर्क थियो । गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उनले गम्भीर चासो व्यक्त गरेका हुन् ।
प्राकृतिक स्रोतको दोहन हुँदा यसको रोकथाममा कसैले तदारुकता  नदेखाएकामा उनले असन्तुष्टि जनाए । पनौतीको रोशीखोला क्षेत्रमा दर्जन व्रmसर–खानी सञ्चालनमा रहेका छन् ।
गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको सूचीमा रहेका छन् । नगरको विवरण अनुसार बाढीपहिरोले ५ सय ८६ घर पूर्ण रूपमा भएका थिए भने ९ सय ४४ वटा घर उच्च जोखिममा रहेको छ ।
गृहमन्त्रीको आदेशपछि अब अवैध तथा नियमले पाउने भन्दा बढी दोहन गर्ने क्रसर र खानी बन्द हुने आशा गरेका छन् । नियमअनुसार खानीहरू राजमार्गबाट ५०० मिटरको दुरीमा हुनुपर्ने भए पनि रोशीमा यो नियम मिचेर खोला र राजमार्ग किनारमा क्रसर सञ्चालित भइरहेको छ ।
नाङ्साल ढुंगा रोडा उद्योगले पोहोरको बाढीअघि नै बीपी राजमार्गलाई क्षति पु¥याएको थियो र पनि उसलाई सञ्चालन इजाजत दिएको थियो । नाङ्साल पहिला काभ्रे घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको थियो र संघीयतापछि काभ्रे जिल्ला समन्वय समितिमा पनि दर्ता भएको थियो । नेपाली कांग्रेसका गणेश लामाले पनौतीको रोशी नदी किनारको कुटुङ्गे गाउँमा ओम सत्य साई स्टोन क्रसर उद्योग सञ्चालन गरिआएका छन् । उनको क्रसर उद्योग पनि निमय विपरीत चलिरहेको छ । लामाको कम्पनीलाई क्रसर सञ्चालनको अनुमति दिइए पनि कम्पनीले बिना अनुमति बालुवा उत्खनन पनि गर्दै आएको छ । सो क्रसरको निस्कने लेदो माटो र फोहोर नदी किनारमा थुप्रिएको हुन्छ र जुन अन्नतः खोलामै पुग्ने गर्छ । पनौती र रोशी नगरपालिकाको राोशी नदी किनारमा ४६ वटा खानी र क्रसर छन् । अधिकांशले खानी सम्बन्धी नियम र कानूनलाई पालना गर्ने गरेका छैनन् । काभ्रे जिल्ला समन्वय समितिको दुई वर्षअघि गरिएको अनुगमन रिपोर्टले खानी र क्रसरसँग उचित अनुमति नभएको, कानून पालना नगरेको र अत्यधिक उत्खनन भएको निष्कर्ष निकालेको थियो । रिपोर्टमा खानीबाट उत्पादन भएको फोहोर राम्रोसँग व्यवस्थापन नगरिएको, उत्खनन क्षेत्र नक्शा नभएको र सञ्चालन भएका खानीका दर्ता तथा लेखा विवरण हराएको उल्लेख छ ।
समन्वय समितिले अनुमति बिना सञ्चालन भएका खानी बन्द गर्न स्थानीय सरकारले निर्देशन पालना गर्न सुझाए पनि सो सुझावलाई कुनै पनि सरकार र स्थानीय निकायले गम्भीरता पूर्वक लिएका थिएनन् । सो पृष्ठभूमीमा गृहमन्त्रीको यो निर्देशनले अब भने प्रभावकारी नियमन हुने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्