नेभिगेशन
विश्व

इजराइलद्वारा लेबननमा भीषण हमला, २५० जनाको मृत्यु, ११ सय बढी घाइते

स्ट्रेट अफ हर्मुज फेरि बन्द गर्ने इरानको घोषणा

काठमाडौं । इजराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ। बुधबार राति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणमा २५० जना भन्दा बढीको मृत्यु भएको र ११ सयभन्दा बढी घाइते भएको भनेर समाचार लेखेको छ ।

हिजबुल्लाहले बुधबार रातिको आक्रमण फेब्रुअरीयता सुरू भएको युद्धकै सबैभन्दा घातक दिन भनेको छ । अमेरिकी समाचार संस्था एशोसिएट प्रेसले भने घटनामा कम्तिमा १८२ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

यो हमला अमेरिका र इरानबीच युद्धविराम भएको केही घन्टामै भएको हो । दक्षिणी लेबनन, बेरूत र बेका भ्यालीमा १० मिनेटभित्रै १०० वटाभन्दा बढी ठाउँमा आक्रमण भएको थियो । राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशतर्फ उडिँरहेको देखिएको थियो भने एम्बुलेन्सहरू आक्रमण भएठाउँमा दौडिँदै गरेको दृश्यरहरू देखिएको भनेर एपीले लेखेको छ ।

प्रत्यक्षदर्शी र पत्रकाहरूहरूले केन्द्रीय कोर्निच अल माजरा क्षेत्रमा सवारीसाधन र सडकमा जलेका शवहरू देखिएको बताएका छन् । उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै जीवितको खोजी गरेका छन् । इसराइलले युद्धविराममा हिजबुल्लाह नसमेटिने बताउँदै आएको छ। यद्यपि बुधबार बिहान भएको युद्धविराममा लेबनन लगायत सबै पक्ष समेटिने भनेर मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको थियो ।

इरान युद्धमा ट्रम्पले गरेको युद्धविरामलाई समर्थन गरे पनि इसराइलले लेबनन भने त्यसमा नपर्ने बताएको थियो। इरानले प्रस्ताव गरेको युद्धविरामका १० बुँदामा इरान समर्थित समूह रहेका देशमा पनि युद्धविराम हुने प्रस्ताव उल्लेख छ।

युद्धविराम हुँदा ट्रम्पले इरानले पठाएका सर्तहरू छलफलयोग्य भएकाले युद्धविराममा सहमत भएको बताएका थिए ।

बुधबार नै पिबिएस न्यूजआवरसँगको कुराकानीमा भने ट्रम्पले लेबनन सम्झौतामा नपरेको बताएका छन्। 'यो अलग झडप हो' उनले भनेका छन् ।

लेबननकी सामाजिक मामिला मन्त्री हनीद सैयदले आक्रमणलाई अत्यन्त खतरनाक भनेकी छन्। राष्ट्रपति जोसेफ आउनले यसलाई बर्बरतापूर्ण भनेका छन्। इसराइलले आक्रमण गरेका ठाउँहरू सैन्यस्थल नभई आवासीय क्षेत्र भएको स्थानीयहरूले एपीलाई बताएका छन् ।

इसराइली रक्षामन्त्री इसराइल कात्जले हिजबुल्लाह नेता नाइम कासेमलाई निशाना बनाइएको बताएको छ। 'अब पालो नाइम कासेमको' उनले भनेका छन्। इसराइलले यसअघि सन् २०२४ मा हिजबुल्ला नेता हसन नसरल्लालाई हवाई हमला गरी हत्या गरेको थियो । हिजबुल्लाहले आफूहरुले युद्धविराम स्वीकार गरिसकेको अवस्थामा इसराइलले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ ।

इसराइलले लेबननमा हमला गरेपछि इरानले फेरि स्ट्रेट अफ हर्मुजमा जहाजहरुको आवागमन बन्द गर्ने घोषणा गरेको भनेर एपीले लेखेको छ । (रासस/एएफपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्