नेभिगेशन
प्रदेश

डम्पिङ साइट अभावमा संक्रमणको डर

पर्वत । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने फलेवास क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा संक्रमणको डर बढेको छ । गर्मी महिना लागेसँगै जथाभावी फाहोर फाल्ने नगरसावीको अभ्यासले रोग निम्तिने खतरा एकातिर छ भने टोल शहर गन्हाएर बस्नै नसक्ने भएको छ ।
अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार विस्तारसँगै फोहोर उत्पादन बढ्दै जाँदा वातावरण प्रदूषण तीव्र बनेको हो । सदरमुकाम कुस्मा बजारसँगै जोडिएको फलेवास नगरपालिकाका विभिन्न स्थानमा यत्रतत्र फोहोर थुप्रिन थालेपछि स्थानीय बासिन्दा मारमा परेका छन् । सडक किनार, खोल्सा तथा खाली जग्गामा जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिनुका साथै पानी र हावासमेत प्रदूषित हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय व्यवसायीका अनुसार बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोर समयमै संकलन तथा व्यवस्थापन नहुँदा व्यापार व्यवसाय प्रभावित हुन थालेको छ । 
नगरपालिकाको बजार क्षेत्र मानिने कार्कीनेटा, थापाठाना, मुडीकुवा, देवीस्थान र खानीगाउँ वडाबाट दैनिक रूपमा निस्कने फोहोरले वातावरण प्रदूषण बढ्दै गएको छ । फलेवास नगरपालिकामा कुल जनसंख्या २० हजार ४ सय ६८ रहेको छ । दैनिक चार टन फोहोरमैला उत्पादन हुने अनुमान  छ । पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको प्लास्टिकजन्य फोहोरले वातावरण र जनजीवनमा दीर्घकालीन असर पार्न थालेको पाइन्छ । 

विशेषज्ञका अनुसार प्लास्टिकजन्य फोहोर सयौँ वर्षसम्म नमासिने भएकाले यसको प्रभाव दीर्घकालसम्म रहने खतरा बढ्दो छ । प्लास्टिकजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनका कारण नाली र ढल थुनिने समस्या बढ्दै गएको छ । यस्तै खुला रूपमा फालिएका प्लास्टिकजन्य फोहोर गाईवस्तुले खाने गरेका कारण अर्को समस्या निम्तिने खतरा छ ।
स्थानीयले फोहोरमैला व्यवस्थापनमा चुनौती बढ्दै गएपछि डम्पिङ साइट निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताउँदै आएका छन् । स्थानीयको दबाबपश्चात् नगरपालिकाको केन्द्र रहेको फलेवास–५, खानीगाउँमा वडा कार्यालयले प्रशासनिक खर्चमार्फत प्रत्येक महिनाको अन्त्यतिर ट्याक्टरमार्फत फोहोर सङ्कलन गर्दै आएको छ ।
फलेवास नगरपालिकाका योजना अधिकृत प्रकाश लम्सालका अनुसार नगरपालिकामा फोहोर व्यवस्थापनका लागि हालसम्म प्रस्ट र प्रभावकारी योजना बन्न सकेको छैन । फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यांक र अध्ययन, दीर्घकालीन योजना, उपयुक्त प्रविधि, वैज्ञानिक व्यवस्थापन, व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्यांकनको अभावले पनि यसको व्यवस्थापनमा समस्या निम्त्याएको उनी बताउँछन् ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरको व्यवस्थापन गर्ने अधिकारी स्थानीय तहलाई दिए पनि यस सम्बन्धमा प्रभावकारी काम गर्न धेरै स्थानीय तह सफल हुन सकेका छैनन् भने फलेवास पनि त्यही वर्गमा परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्