नेभिगेशन
प्रदेश

बिस्काः जात्राको रौनक

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ  । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ भने वैशाख ५ गते सम्पन्न गरिन्छ । 
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महŒव बोकेको बिस्काः जात्रा लिच्छविकालदेखि चलिआएको मानिन्छ । तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । यस क्रममा नौ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् ।
जात्रा अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिन्छ । पहिलो दिन पाँचतले मन्दिर प्रांगणबाट भैलखःलाई क्वने (तल्लो टोल) र थने (माथिल्लो टोल) का बासिन्दाले अगाडि पाँच र पछाडि चार डोरी तानेर आ–आफ्नो टोलतर्फ लैजान प्रतिस्पर्धा गर्छन् । भैलखः तानातान नै जात्राको मुख्य आकर्षण बन्छ ।
तानातानको क्रममा थनेतर्फ तान्न सफल भएमा दत्तात्रयसम्म लैजान्छन् र त्यहाँबाट पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर फर्काइ गःहिटीमा पु¥याइन्छ । यससँगै पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । भैलखः तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल हुँदै तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो हुँदै दत्तात्रयसम्म रहन्छ ।
दोस्रो दिनलाई शून्य दिनका रूपमा लिइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानबाट सरकारी पूजा गरिन्छ । बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछे बासिन्दालाई बाँडिन्छ, जसलाई ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिंगो) उभ्याइन्छ । साँझ तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः उभ्याउने जात्रा बिस्काको अर्को प्रमुख आकर्षण मानिन्छ, जसले पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको संकेत गर्छ ।
यसींद्योःमा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । यी ध्वजा फुकाएपछि मात्र नयाँ संवत् सुरु हुने विश्वास गरिन्छ, त्यसैले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहन्छ । यसमा बाँधिएका आठ डोरी अष्टमातृकाको प्रतीक मानिन्छन् । यसींद्योः उठेपछि राति नवदुर्गा देवगणको उपस्थिति रहने विश्वास गरिन्छ र तलेजुमा दुमाजुको विशेष पूजा गरिन्छ ।
पाँचौं दिन अर्थात् वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनको भीड लाग्छ । विभिन्न बाजागाजा बजाउँदै परम्परागत पोसाकमा भैरव, भद्रकाली, बेताल र यसींद्योःको पूजा–दर्शन गरिन्छ । बेताललाई पोथी कुखुराको बलि दिइन्छ । साँझ विधिपूर्वक पूजा गरी यसींद्योः ढालिन्छ ।
त्यसपछि भैरव र भद्रकालीको रथ गःहिटीमा ल्याई आपसमा जुधाइ सङ्गम जात्रा मनाइन्छ, जसलाई स्थानीय भाषामा ‘द्योः ल्वाकिगु’ भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा पनि गरिन्छ ।
छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा मनाइन्छ । सातौं दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा हुन्छ । सोही दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा तथा खँलामा परदेशी भीमसेनको खट जात्रा मनाइन्छ ।
आठौं दिन भक्तपुरका विभिन्न शक्तिशाली देवदेवीलाई द्योछेंबाट निकालेर प्रांगण, सतल र पाटीमा राखी पूजा गरिन्छ । विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) दिनभर मनाइन्छ ।
अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो ढालिन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । त्यसपछि पहिलो दिनझैं भैलखःलाई थने र क्वनेका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गर्छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्