नेभिगेशन
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेश विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा मधेश प्रदेशलाई हराउँदै बागमती प्रदेश विजयी भएको छ ।  वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई ३५ रनले हराएको हो ।
सुरुआती ब्याटिङ गरेको बागमतीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय आठ रन जोडेको थियो । बागमतीका उत्तम मगरले ७५ बल खेल्दै ४४ रन जोडेका थिए भने सन्दीप लामिछानेले पनि ३४ बलमा ३६ रन जोडेका थिए । 
मधेश प्रदेशका पवन सर्राफले तीन विकेट र रञ्जित कुमारले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मधेशले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७३ रनमा समेटिएको थियो । मधेशका मयन यादवले ५० बलमा ४० रन जोडेका थिए भने मोहम्मद आदिल आलमले २० बलमा २७ रन जोडेका थिए । 
बागमतीका प्रतिश जिसीले पाँच विकेट र रिजन ढकालले समान दुई विकेट लिएका थिए । बागमतीका जिसी आजको खेलमा प्लेयर अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्