जकार्ता, १७ भदौ : इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् । कानून निर्माताहरूको सुविधाको विषयलाई लिएर प्रहरी विरुद्ध आक्रोश पोख्दै भएको हिंसात्मक विरोध प्रदर्शनपछि उनीहरू बेपत्ता भएको जनाइएको छ ।
गत हप्ता दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा भएको विरोध प्रदर्शन अर्धसैनिक प्रहरीले एक युवा डेलिभरी ड्राइभरको हत्या गरेको भिडियो सार्वजनिक भएपछि भड्किएको थियो । यस क्रममा कम्तीमा छ जनाको मृत्यु भएको थियो ।
“सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट आएको थियो । खोजी र प्रमाणीकरणपछि २० जनाको अवस्था अझै अज्ञात छ”, बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले विज्ञप्तिमा उल्लेख गरेको छ ।
जाभा टापुको बान्दुङ र देपोक सहरका साथै राजधानी क्षेत्रअन्तर्गत मध्य, पूर्वी र उत्तरी जकार्तामा ती व्यक्तिहरू बेपत्ता भएको समूहले जनाएको छ । एक घटना भने ‘अज्ञात स्थान’ मा भएको बताइएको छ ।
राष्ट्रिय प्रहरीले यसबारे एएफपीको प्रश्नमा तत्काल प्रतिक्रिया जनाएन । तर जकार्ताका मेट्रोपोलिटन प्रहरी प्रमुख एसेप एडी सुहेरीले सोमबार पत्रकार सम्मेलनमा भने, “अगस्ट २५ यता राजधानीमा भएको प्रदर्शनमा एक हजार दुई सय ४० जना पक्राउ परेका छन् ।”
देशभरका सहरहरूमा फैलिएको असन्तुष्टिपछि राष्ट्रपति प्रबोवो सुबिआन्तो सांसदका सुविधाबारे पुनर्विचार गर्न बाध्य भएका छन् । उनी सत्तामा आएपछि यसअघि भएका सबैभन्दा ठूलो विरोध प्रदर्शन यिनै हुन् ।
मङ्गलबार संसद् अगाडि महिला समूहहरूको गठबन्धनले थप प्रदर्शन गर्ने तयारी गरिरहेको थियो । यसअघि उनीहरूले सोमबारको प्रदर्शन भने रद्द गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घले पनि प्रदर्शनका क्रममा ‘असमान बल प्रयोग’ भएको आरोपमा छानबिन गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भनिन्, “संसदीय भत्ता, मितव्ययिता उपाय र सुरक्षा बलद्वारा भएको बल प्रयोगका घटनालाई लिएर हामीले इन्डोनेसियाको हिंसा गम्भीरतापूर्वक हेरिरहेका छौँ ।”
तस्विर - एएफपी
विश्वविद्यालय नजिकै झडप
सोमबार राजधानी जकार्ताभर सेना परिचालन गरिएको थियो । संसद् बाहिर सयौँ पुनः भेला भएका थिए भने अन्य सहरहरूमा पनि झडप भएको रिपोर्ट आएको छ ।
राष्ट्रपति प्रबोवोले अस्पतालमा घाइते प्रहरीलाई भेट्न जाँदा प्रदर्शनकारीहरूको आलोचना गर्दै र्यालीहरू साँझभित्रै सकिनुपर्ने बताएका थिए ।
बान्दुङमा प्रदर्शनकारीहरूले प्रान्तीय परिषद् भवनतर्फ मोलोटोभ ककटेल फ्याँकेपछि प्रहरीले ‘सन्दिग्ध अराजकतावादीहरू’ लाई लक्षित गर्दै अश्रुग्यास प्रहार गरेको थियो ।
पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचम्यानले विज्ञप्तिमा भने, “केही प्रदर्शनकारीहरूले बान्दुङ इस्लामिक विश्वविद्यालय परिसरलाई द्वन्द्व भड्काउने केन्द्र बनाउन खोजे ।”
सामाजिक सञ्जालमा भने प्रहरीमाथि क्याम्पसमा अश्रुग्यास र रबरको गोली प्रहार गरेको आरोप लगाइएको छ । तर हेन्द्राले ‘अधिकारीहरूले क्याम्पसबाट दुई सय मिटर दूरी कायम गरेका थिए, क्याम्पसभित्र गोली चलाइएको छैन’ भनेर खण्डन गरेका छन् । विश्वविद्यालय प्रशासनले पनि आफ्ना विद्यार्थीहरूले अशान्ति भड्काएको आरोप अस्वीकार गरेको छ ।
तस्विर - एएफपी
देशभर प्रदर्शन
सुमात्राको पालेम्बाङ, बोर्नियोको बानजारमासिन, जाभाको योग्याकार्ता र सुलावेसीको मकास्सरमा सयौँदेखि हजारौँसम्म प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
सुलावेसीकै गोरोन्टालो सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।
थप अशान्तिको आशङ्कामा, टिकटकले शनिबारदेखि ‘केही दिनका लागि’ इन्डोनेसियामा लाइभ प्रसारण सुविधा निलम्बन गरेको छ । इन्डोनेसियामा टिकटकका प्रयोगकर्ता १० करोडभन्दा बढी रहेका छन् ।