नेभिगेशन
राजनीति
कांग्रेसमा संसदीय दल नेता छनोटमा अलमल

केसीले रहर गर्दा पार्टी नै अनिर्णित

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भइसक्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसमा अझैसम्म संसदीय दलका नेता छनोटको काम भएको छैन । ठूलो र पुरानो पार्टी यसपटक एकाएक परिवर्तनको लहरले खुम्चियो तर यसको किचलो जति पार्टी केन्द्रीय समितिमा छ, त्योभन्दा कम छैन संसदीय दलको नेता छनोटमा । 
प्रतिनिधिभाको पहिलो बैठक यही चैत १९ गते बसेको थियो । संसदमा हाल रहेका ६ दलमध्ये ५ दलले त्यसअघि नै आफ्नो दलको नेता चयन गरिसकेका थिए । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेस दलको नेताविहीन छ । प्रतिनिधिसभामा यसपटक कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट जितेको हो । 
कांग्रेसमा सांसद अर्जुननरसिंह केसी, भीष्मराज आङ्दम्बे र मोहन आचार्यको नाम चर्चामा छ । दलको नेतामा केसीले आकांक्षा राख्दा दलको नेता चयन प्रक्रियामा जान सभापति गगन थापाले हतारो गरेका छैनन् । केसी नातामा सभापति थापाका ससुरा हुन् । केसीले अडान नछाड्ने र सभापति थापाले उनलाई दलको नेता बनाउन नचाहँदा निर्णयमा ढिलाइ भएको कांग्रेस नेताहरु बताउँछन् । 
‘अहिले अर्जुन दाइलाई दलको नेता बनाउँदा सभापतिज्यूमाथि प्रश्न गर्नेहरुलाई विषय मिल्छ भन्नेमा सभापतिज्यू सशंकित हुनुहुन्छ । त्यसैले उहाँले दलको नेतामा आकांक्षा नराखे हुने भन्नेमा हुनुहुन्छ,’ सभापति थापा निकट एक नेताले बताए । तर, केसीले भने आफू गगन थापाको ससुरा हुनुअघि नै सांसद भइसकेको र योगदानका आधारमा पनि आफ्नो दाबी स्वाभाविक भएको बताएका छन् । हुन पनि उनी अहिलेका नयाँ र भर्खरै पार्टीमा लागेका नेता होइनन् । निरन्तरताको हिसाब गर्दा पनि उनले संसदीय दलको नतोमा दाबी गर्नु अस्वाभाविक देखिँदैन । तर, यसपटक निर्वाचनमा लहर परिवर्तनको थियो भन्नेको जमात ठूलो छ ।
सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले केसीलाई दाबी छाड्न लगाउन महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रवक्ता देवराज चालिसेसहितका नेताहरुलाई उनकै निवासमा पठाएका थिए । तर, उक्त भेटमा पनि केसीले आफूलाई सभापतिको ससुराका रुपमा हेरेर आफ्नो राजनीतिक योगदानको अवमूल्यन नगर्न भनेको भेटमा सहभागी एक पदाधिकारीले बताए ।
कांग्रेस उपसभापति शर्माले शुक्रबार केसीले दलको नेतामा चाहना राख्दा समस्या परेको संकेत गरे । कांग्रेस गण्डकी प्रदेशको भेलामा सम्बोधन गर्दै उनले आफूहरुले केसीलाई दलको नेता होइन अभिभावकको रुपमा हेर्न चाहेको बताए । ‘उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै ।  त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ,’ उपसभापति शर्माले भने, ‘०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुन्छ । उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुन्छ । सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ । त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं ।’ उनले केसीले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्ने अपेक्षा व्यक्त गरे । 
संसदीय दलको नेताका लागि केसी, आचार्य र आङ्दम्बे मुख्य दौडमा छन् । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा यी तीनै नामलाई लिएर केसीलाई मनाउन सके समसया नहुने नेताहरुको दाबी छ । संस्थापनइतर समूहका आङ्दम्बे निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । तर, उनले अहिले दलको नेता बनाउने आश्वासनपछि पार्टीको अहिलेको नेतृत्वलाई मान्न तयार भइसकेको संस्थापनपक्षका एक नेताले बताए ।  संसदको पहिलो बैठकमा विशेष महाधिवेशनबाट कांग्रेस बदलिएको भन्ने उनको अभिव्यक्तिलाई त्यसकै संकेतका रुपमा हेरिएको छ । ‘विशेष महाधिवेशनबाट कांग्रेस बदलियो । विशेष महाधिवेशनले दृष्टिकोण पारित गरेको छ । गगन थापालाई सभापति बनाएर कांग्रेसले बदलिएको सन्देश दिएको छ,’ आङदेम्बेले संसदमा भनेका थिए । 
स्रोतका अनुसार उपसभापति विश्वप्रकाश शर्मा आङ्दम्बेको पक्षमा र सभापति थापाले आचार्यलाई अघि सार्ने चाहना राखेको उनीहरु निकटस्थ बताउँछन् । तर, केसीले मैदान नछाड्दासम्म के गर्ने ? भन्नेमा सभापति थापा र उपसभापति शर्मा अनिर्णीत छन् । कांग्रेसले नयाँ अधिवेशन शुरु हुनुअघि नै दलको नेता चयन गर्ने बताएको छ । आचार्य तीन पटक निर्वाचित भएर सांसद बनेका छन् भने आङ्दम्बे यसपटक समानुपातिक सांसद हुन् । तर, पार्टी वरीयतामा यसअघि सहमहामन्त्री र मन्त्रीसमेत भइसकेकाले केसी नबन्दा उनलाई बनाउँदा अर्को समूह पनि व्यवस्थापन हुने भन्दै संस्थापनका धेरै सांसद उनको पक्षमा रहेको बताइन्छ । 
केसीले आफ्नो सिनियरिटी र अनुभवलाई मुख्य आधार बनाउँदै दाबी नछोड्ने अडान राखेका छन् । उनले आफू स्वाभाविक उम्मेदवार भएको भन्दै पछि नहट्ने संकेत दिएपछि कांग्रेसभित्र सहमतिको वातावरण झन् जटिल बनेको छ । 
प्रतिनिधिसभामा हाल कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा कम संख्यामा रहेका बेला पनि दलको नेता चयनमा ढिलाइ गरेको भन्दै पार्टीभित्रैै पनि आलोचना भइरहेको छ । 
कांग्रेस नेता केदार कार्कीले प्रमुख प्रतिपक्षी दलको नेता चयन  नभएकोमा प्रश्न उठाएका छन् । ‘प्रमुख प्रतिपक्षी दलको नेता चयन  नगरी संसद् अन्त्य भयो । हिजो नेतृत्वको खोट देख्ने र लेख्नेहरू आज पजनीमा हुनुहुन्छ । तर पनि निर्णय र निकास छैन । सुधारिएको मानसिकता समेत उही ‘दास र लास’ मा परिणत भएको त होइन ?,’ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत कार्कीले भनेका छन्, ‘जिम्मेवारीमा रहेर समयमा निर्णय गर्न नसक्ने, विधि र प्रक्रिया कार्यान्वयनमा लैजान नसक्ने नेतृत्वका लागि  राइट टू रिकल हुनुपर्छ कि पर्दैन ?’
कांग्रेसले दलको नेता चयन सहज बनाउन सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा समिति नै बनाएको छ । उक्त समितिले पनि आंकाक्षीसँग संवाद गर्दै सहमति जुटाउन प्रयास जारी राखेको छ । संयोजक रसाइलीले सहमतिमै दलको नेता चयन होस् भनेर प्रयास जारी रहेको र सहमति नजुटे प्रक्रियाबाट टुगो लगाउने भन्दै अब धेरै समय नलाग्ने बताए । 
प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को पदेन सदस्य रहने व्यवस्था छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, र्विाचन आयोगका प्रमुख आयुक्त हाल रिक्त छन् । संवैधानिक नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रतिनिधित्व हुने प्रमुख प्रतिपक्षी दलको नेता चयन नहु“दा उक्त समितिले समेत पूर्णता पाउन सकेको छैन । 
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र उपसभामुख रहने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाबाट शुक्रबार मात्रै उपसभामुखमा रुबिकुमारी ठाकुर निर्वाचित भइसकेकी छन् । अब परिषद्को सदस्यमा चयन हुन विपक्षी दलका नेता मात्रै बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्