नेभिगेशन
प्रदेश
बुटवल–लमही प्रसारण लाइन

वन तथा वातावरणीय अनुमतिका लागि समुदायसँग छलफल

काठमाडौं । आयोजनाहरुको निर्माणमा ढिलाइ हुने एउटा प्रमुख कारण हो वन तथा वातावरणीय अनुमतिका प्रक्रिया । यसपटक सरकारले सेनाको जिम्मामा निर्माणाधीन काठमाडौं तराई द्रुतमार्गलाई रुख कटानको अनुमति फास्ट ट्रयाकमा दिएको छ । यस्तै प्रक्रियामा पर्खामा छ बुटवल–लमही प्रसारण लाइन ।
नेपाल विद्युत प्राधिकरणले प्रस्तावित बुटवल–लमही ४०० केभी प्रसारण लाइनको वातावरणीय अध्ययन, वन क्षेत्रको जग्गा उपयोग तथा रुख रुख विरुवा कटानको अनुमतिका लागि सहजीकरण गरिदिन सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ । प्राधिकरणले  आयोजना विकास निर्देशनालय अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण सहायतामा निर्माण हुने यो प्रसारण लाइनको वातावरणीय अध्ययन, वन क्षेत्रको जग्गा उपयोग तथा रुखबिरुवा कटानको अनुमतिका लागि सहजीकरण गरिदिन संघ तथा प्रदेशस्तरीय निकायका पदाधिकारी समक्ष आग्रह गरेको हो ।
प्रसारण लाइन आयोजना निर्माण गर्न वन तथा वातावरणीय अध्ययनका लागि अनुमति लिनुपर्ने सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी सहजीकरण गर्न आग्रह गरिएको प्राधिकरण, आयोजना विकास निर्देशनालयका उपकार्यकारी निर्देशक दुर्गानन्द बडियतले बताए । उनका अनुसार आयोजना कार्यान्वयनलाई तीव्रता दिन वन क्षेत्र उपयोग र रुख कटान अनुमतिको प्रक्रिया छिटो अघि बढाउन आवश्यक छ । 
सरोकारवाला निकायका पदाधिकारी समक्ष प्रसारण लाइन आयोजनाको निर्माणको उद्देश्यबारे स्पष्ट पारेको उनले बताए । आयोजना  निर्माणअघि नै निर्माण कम्पनीलाई साइट हस्तान्तरण सुनिश्चित गर्ने रणनीति अनुसार प्राधिकरणले सरोकारवालासँग सहजीकरणका लागि आग्रह गरेको हो ।
यो प्रसारण लाइन आयोजनाको वन तथा वातावरणीय अनुमति प्रक्रियाका सम्बन्धमा लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित छलफल कार्यक्रममा संघीय तथा प्रदेशस्तरीय वन तथा वातावरण मन्त्रालयका सचिव÷प्रतिनिधि, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुखहरू, एडीबीका प्रतिनिधि तथा प्राधिकरणका पदाधिकारीहरूबीच बृहत छलफल गरिएको थियो । प्रसारण लाइन आयोजनाको वर्तमान अवस्था, वातावरणीय अध्ययन, वन क्षेत्र प्रयोगको अनुमति तथा रुख कटान प्रक्रियासम्बन्धी कानुनी एवम् प्राविधिक पक्षहरूबारे विस्तृतमा प्रस्तुतिकरण गरेको थियो । यो छलफल कार्यक्रममा यो प्रसारण लाइनको अहिलेसम्मको प्रगति, रुट परिवर्तन गरिएका संवेदनशील क्षेत्रहरू तथा आगामी कार्यतालिकाबारे आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले प्रस्तुतिकरण दिएर सबै सरोकारवालालाई आयोजनाबारे खुलस्त पारेका थिए ।
प्राधिकरणका अनुसार बुटवल–लमही प्रसारण लाइन करिब १६० किलोमिटर लामो हुनेछ । यो प्रसारण लाइन निर्माणले नवलपरासी पश्चिमको नयाँ बुटवल सबस्टेसनदेखि दाङको लमहीसम्म जोड्नेछ । यो प्रसारण लाइन आयोजनाको रुट रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची लगायत जिल्लाबाट भएर जानेछ । आयोजना एडीबीको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो । कार्यक्रममा एडीबीका प्रतिनिधिहरूले ‘सेफगार्ड’ नीतिअनुसार वातावरणीय तथा सामाजिक सुरक्षाका मापदण्डहरूबारे प्रकाश पारेका थिए । साथै, पूर्व स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा केही संवेदनशील क्षेत्रहरू (पुरातात्विक स्थल, गिद्ध बासस्थान र आहार केन्द्र) समेटिएको कारण रुट परिमार्जन गरी पुनः अध्ययन भइरहेको छ । 
कार्यक्रममा सहभागी वन अधिकारीहरूले कानुनी प्रक्रिया पालना गर्दै वातावरणीय सन्तुलन कायम राख्नुपर्नेमा जोड दिएका थिए । छलफल सत्रमा उठेका सुझावहरूलाई समेट्दै आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ । नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरता तथा विद्युत निर्यात विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन नेटवर्क विस्तारमा यो आयोजना महŒवपूर्ण रहेको प्राधिकरणका उपप्रबन्धक विश्वरञ्जन मिश्रले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्