नेभिगेशन
प्रदेश

निःशुःक औषधी अभाव, निजीमा किन्नुपर्ने बाध्यता

कैलाली । धनगढी–१३ राजपुरमा सञ्चालित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधि अभावमा बिरामीहरू मर्कामा परेका छन् ।
चिकित्सालयलाई औषधी खरिदका लागि पर्याप्त बजेट विनियोजन नहुँदा बिरामीहरूले निजी फार्मेसीबाट औषधी किन्न बाध्य भएका छन् । चिकित्सालयको फार्मेसीमा बिरामीहरूले ३५ किसिमका औषधी निःशुल्क पाउनुपर्ने सरकारी नियम भए पनि हाल बजेट अभावका कारण २० प्रकारका औषधी मात्रै पाइरहेका छन् । नेपाल सरकारले आयुर्वेदिक अस्पतालहरूबाट २३ किसिमको औषधी निःशुल्क उपलब्ध गराउँदै आएकोमा चालु आर्थिक वर्षदेखि ३५ किसिमको औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । तर यस वर्ष सुरुमा २८ किसिमको औषधी मात्रै निःशुल्क उपलब्ध भएकामा अहिले २०  किसिमको औषधी मात्रै फार्मेसीमा निःशुल्क उपलब्ध छन् । धेरै उपयोग हुने र महत्वपूर्ण आयुर्वेदिक औषधीहरू अविपत्तीकरण चूर्ण, बालामृतजस्ता औषधी सकिएको चिकित्सालयले जनाएको छ ।
प्रादेशिक आयुर्वेदिक चिकित्सालयका निमित्त मेडिकल सुपरिन्टेडेन्ट डा. ओमप्रकाश कलौनीले सरकारले दिएको बजेटले तीन महिना मात्रै आषधी निःशुल्क वितरण गर्न पुग्ने गुनासो गरे । ‘प्रदेश सरकारबाट ३० लाख रुपैयाँ मात्रै औषधी खरिदका लागि बजेट आएको थियो,’ उनले भने, ‘आपूर्ति केन्द्रबाट वार्षिक ८० लाखको औषधी मात्रै आउँछ । एक करोड १० लाख रुपैयाँको औषधी तीन महिना मात्रै वितरण गर्न पुग्छ ।’
उनले यस वर्ष खरिद गरिएका औषधी सकिन लागेकाले बिरामीलाई सबै प्रकारका औषधी उपलब्ध गराउन नसकिएको स्पष्टीकरण दिए । चिकित्सालयको सशुल्क औषधी बिक्री कक्षमा सहुलियत दरमा औषधी उपलब्ध रहेको बताउँदै उनले निःशुल्क वितरण गरिने औषधी उक्त कक्षमा नराखिएको जनाए । ‘निःशुल्क पाइने औषधी हामीले बिक्री कक्षमा राखेका छैनौं,’ उनले भने, ‘निःशुल्क औषधी कक्षमा औषधी सकिएपछि बिरामीले मेडिकलमा खरिद गर्नुपरेको हो ।ࢅ
चिकित्सालयले पञ्चकर्म सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । स्नेह, स्वदेन सेवा निःशुल्क दिने हुँदा महानारायण तेल बिरामीलाई दिने गरिएको छैन । ‘तर बिरामीले एउटा सिसी घरमा लिएर जान पाएहुन्थ्यो भन्ने चाहन्छन्,’ उनी भन्छन् ।
चिकित्सालयमा उपचारका लागि आउने बिरामीको संख्या गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा २२ हजार ९ सय १६ जनाले यहाँबाट सेवा लिएका छन् भने गत वर्षको ६ महिनाको १६ हजार ३ सय ८० जनाले सेवा लिएका थिए । चिकित्सालयमा पञ्चकर्म उपचारलगायत ओपीडी, स्वर्णविन्दु प्रासन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित विशेष सेवा, व्यवस्थापन प्रणाली सुधार, विपन्नमैत्री सेवा नीतिलगायत कारणले बिरामीको संख्या बढेको हो । अस्पतालले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई शतप्रतिशत सेवा  शुल्क छुट दिँदै आएको छ । यसले गर्दा ज्येष्ठ नागरिक सेवाग्राही सबैभन्दा बढी वृद्धि भएको डा. कलौनीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश