नेभिगेशन
विश्व

मेलेनियाको मौनता तोडिँदा खैलाबैला !

वासिङ्टन डि.सी. । प्रथम महिला मेलेनिया ट्रम्पले बिहीबार अप्रत्याशित रूपमा कलङ्कित यौन तस्कर जेफ्री एपस्टिनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिएकी छन् । यो मुद्दा ओझेलमा परिसकेको समयमा उनले किन यस्तो सार्वजनिक घोषणा गरिन् भन्नेबारे शुक्रबार पनि मानिसहरूमा कौतुहलता कायमै रह्यो ।
विहीबार ह्वाइट हाउसमा तयार पारिएको मन्तव्य पढ्दै मेलेनिया ट्रम्पले स्वर्गीय एपस्टिनसँगको आफ्नो सम्बन्धका बारेमा फैलाइएका ‘निराधार र झूटो आरोप’ विरुद्ध आफू र आफ्ना वकिलहरूले लडिरहेको बताइन् । एपस्टिन एक दोषी यौन अपराधी थिए, जसले आफ्ना शिकारहरू खोज्न र अपराध लुकाउन धनी, शक्तिशाली र चर्चित व्यक्तिहरूसँगको पहुँचको दुरुपयोग गर्थे ।
‘मलाई अपमानित जेफ्री एपस्टिनसँग जोड्ने झूटो प्रचार आजै बन्द हुनुपर्छ,’ उनले भनिन्, ‘मेरो बारेमा झूट बोल्ने व्यक्तिहरूमा नैतिक स्तर, नम्रता र सम्मानको अभाव छ । म उनीहरूको अज्ञानताप्रति आपत्ति जनाउँदिनँ तर मेरो प्रतिष्ठामा आँच पु¥याउने उनीहरूको दुर्भावनापूर्ण प्रयासलाई भने अस्वीकार गर्दछु ।’
आफ्नो भनाइपछि प्रथम महिलाले सञ्चारकर्मीहरूसँग कुनै प्रश्न लिइनन्, जसका कारण धेरै प्रश्नहरू अनुत्तरित नै रहे ।
अहिले नै किन उनले स्पष्टीकरण दिइन् ? यसको स्पष्ट जवाफ भने आएन । उनको सन्देश यस्तो बेला आएको छ, जब उनका पति राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन एपस्टिनसँग जोडिएका एक वर्षभन्दा लामो विवादबाट बल्ल बाहिर निस्किएको जस्तो देखिन्थ्यो । खासगरी वासिङ्टन अहिले इरान युद्धमा पूर्ण रूपमा केन्द्रित छ ।
राष्ट्रपतिको कार्यालयले जनता र सञ्चारमाध्यमलाई यस मुद्दाबाट अघि बढ्न आग्रह गरिरहेकै बेला प्रथम महिलाको यो टिप्पणीले निश्चित रूपमा यस कथालाई फेरि राजनीतिक चर्चाको केन्द्रमा ल्याउनेछ ।
मेलेनियाको जवाफ कसलाई ?
मेलेनिया ट्रम्पले सन् २००२ को एउटा संक्षिप्त इमेललाई संकेत गरेको देखिन्छ, जसमा पठाउने र पाउने व्यक्तिको नाम मेटाइएको छ । उक्त इमेल ‘प्रिय जी !’बाट सुरु हुन्छ र ‘लभ, मेलेनिया’मा टुंगिन्छ । जसमा ‘जेई’को बारेमा लेखिएको एक म्यागजिन लेखको प्रशंसा गरिएको छ ।
‘मलाई थाहा छ तपाईं संसारभर उड्न निकै व्यस्त हुनुहुन्छ,’ इमेलमा लेखिएको छ, ‘पाम बीच कस्तो रह्यो ? म त्यहाँ जान आतुर छु । न्यूयोर्क फर्केपछि मलाई कल गर्नुहोला ।’
यो इमेल त्यही महिना पठाइएको थियो जुन बेला ‘न्यूयोर्क म्यागजिन’मा एपस्टिनबारे एउटा लेख प्रकाशित भएको थियो, जसमा ट्रम्पले उनलाई ‘उत्कृष्ट व्यक्ति’ भनेका थिए ।
विहीबार मेलेनियाले आफू एपस्टिन वा उनकी सहयोगी तथा पूर्व प्रेमिका गिसलेन म्याक्सवेलको साथी नभएको तर न्यूयोर्क र फ्लोरिडाका उस्तै सामाजिक सर्कलहरूमा मात्र रहेको बताइन् । उनले म्याक्सवेललाई पठाएको इमेल जवाफलाई ‘सामान्य कुराकानी’को रूपमा व्याख्या गरिन् ।
‘उनको इमेलमा मेरो विनम्र जवाफ एउटा सामान्य नोटभन्दा बढी केही होइन,’ उनले भनिन् ।
सार्वजनिक भएका अन्य कागजातहरूमध्ये एपस्टिनको घरको एउटा तस्विर पनि थियो, जसमा दराज र टेबलहरूमा धेरै तस्विरहरू देखिन्छन् । त्यसमध्ये एउटा दराजमा डोनाल्ड ट्रम्प, एपस्टिन, मेलेनिया ट्रम्प र म्याक्सवेल सँगै भएको तस्विर पनि देखिएको थियो ।
मेलेनिया ट्रम्पले विहीबार उल्लेख गरेअनुसार धेरै व्यक्ति र संस्थाहरूले उनको बारेमा ‘झूटो बोलेकोमा’ माफी माग्नुपरेको छ । उनले दिएका उदाहरणहरूमध्ये सबैभन्दा पछिल्लो अक्टोबरको थियो । त्यस मामलामा, पुस्तक प्रकाशक ‘हार्पर कोलिन्स यूके’ले प्रथम महिलासँग माफी मागेको थियो र एउटा पुस्तकबाट ती अंशहरू हटाएको थियो जसले उनलाई डोनाल्ड ट्रम्पसँग भेटाउन एपस्टिनले भूमिका खेलेको दाबी गरेको थियो ।
ट्रम्पले के भने ?
एमएस नाउकी रिपोर्टर ज्याकलिन एलेमानीले विहीबार सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले आफूलाई मेलेनियाको एपस्टिनसम्बन्धी बयानबारे ‘केही थाहा नभएको’ बताएको उल्लेख गरिन् । ह्वाइट हाउस प्रेस कार्यालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएन ।
प्रथम महिलाका प्रवक्ता निक क्लेमेन्सले वेस्ट विङ (राष्ट्रपतिको कार्यालय) लाई उनी बयान दिन जाँदैछिन् भन्ने जानकारी पहिले नै भएको बताए । तर मेलेनियाले के भन्न लागेकी थिइन् भन्ने कुरा उनीहरूलाई थाहा थियो कि थिएन भन्ने विषयमा उनले वेस्ट विङलाई नै सोध्न आग्रह गरे ।
पछिल्ला हप्ताहरूमा राष्ट्रपति ट्रम्पका सार्वजनिक उपस्थितिहरू मुख्यतया इरानसँगको युद्धमा केन्द्रित छन् ।
एपस्टिन फाइलहरूको अवस्था के छ ?
‘एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ अन्तर्गत संघीय अधिकारीहरूले लाखौँ पाना कागजातहरू सार्वजनिक गरेको केही महिनापछि प्रथम महिलाले यो विषयलाई फेरि अगाडि ल्याएकी हुन् । यो कानून महिनौँको सार्वजनिक र राजनीतिक दबाबपछि लागू भएको थियो, जसले सरकारलाई दिवंगत एपस्टिन र म्याक्सवेलका फाइलहरू खोल्न बाध्य बनाउँछ ।
सुरुमा न्याय विभागले सीमित कागजात मात्र सार्वजनिक गर्दा सांसदहरूले गुनासो गरेका थिए । तर अधिकारीहरूले थप भेटिएका कागजातहरूको समीक्षा गर्न र पीडितहरूको गोप्य जानकारी बाहिर नजाओस् भनी सुनिश्चित गर्न थप समय चाहिएको बताएका थिए ।
कसैलाई कारबाही भयो ?
यूरोपका केही प्रमुख नेताहरू एपस्टिनसँगको सम्बन्धका कारण दण्डित भएका छन्, तर अमेरिकामा त्यस्तो कुनै कारबाही भएको छैन । सबैभन्दा उल्लेखनीय रूपमा, बेलायतका पूर्व राजकुमार एन्ड्रयू (एन्ड्रयू माउन्टब्याटन–विन्डसर) लाई फेब्रुअरीमा पक्राउ गरिएको थियो । फाइलहरूमा उनको नाम बारम्बार देखिएको थियो, जसले एपस्टिनसँग उनको नजिकको सम्बन्ध रहेको देखाउँथ्यो ।
उनको गिरफ्तारी यौन दुव्र्यवहारसँग सम्बन्धित भने थिएन बरु, उनलाई एपस्टिनसँग गोप्य व्यापारिक जानकारी दिएको आरोपमा पक्राउ गरिएको थियो ।
मेलेनियाले कंग्रेसलाई एपस्टिनका अपराधबाट बचेका पीडितहरूमा केन्द्रित भएर सार्वजनिक सुनुवाइ गर्न आह्वान गरेकी छन् । त्यसो हुँदा पीडितहरूले सांसदहरू समक्ष बयान दिने र उनीहरूको पीडा कंग्रेसमा दर्ता गर्ने अवसर पाउनेछन् ।
‘यदि कुनै महिलाले चाहन्छिन् भने उनले सार्वजनिक रूपमा आफ्नो कथा सुनाउने मौका पाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि मात्र हामीले सत्य थाहा पाउनेछौँ ।’ एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्