नेभिगेशन
विश्व

इरानको केर्मानमा रेल दुर्घटना हुँदा ३० जना घाइते

 

काठमाडौं । इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रबार भएको एक रेल दुर्घटनामा ३० जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केरमान–जारान्ड रेलमार्गमा रेल लिकबाट बाहिरिएपछि दुर्घटना भएको हो ।

‘रेड क्रिसेन्ट सोसाइटीको रिलिफ एन्ड रेस्क्यु अर्गनाइजेसन’का प्रमुख बाबाक महम्मदीले मेहर समाचार एजेन्सीसँग कुरा गर्दै भने, “रेलमार्गबाट रेल चिप्लिएपछि भएको दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् ।”

यसैबीच, तस्निम समाचार एजेन्सीले राष्ट्रिय रेलवे निकायको जनसम्पर्क कार्यालयद्वारा जारी विज्ञप्तिको हवाला दिँदै लेखेको छ, “दुर्घटनापछि प्राविधिक टोली र उद्धारकर्मी तुरुन्तै घटनास्थलमा पुगेका थिए । सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको छ।”

इरानमा समय–समयमा साना रेल दुर्घटना हुने गरे पनि गम्भीर दुर्घटना भने कमै हुने गरेका छन् ।

यसअघि सन् २०२२ को जुन महिनामा मध्य इरानको ताबास सहर नजिकै एक रेल स्काभेटरसँग ठोक्किँदा २१ जनाको मृत्यु भएको थियो भने दर्जनौं यात्रु घाइते भएका थिए । त्यस्तै, सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेल एकआपसमा ठोक्किँदा आगलागीसमेत भई ४४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्