नेभिगेशन
अर्थतन्त्र

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार आइतबार प्रधानमन्त्री र मन्त्रीहरूले पेस गरेको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक गरिएको छ । धेरैजसो मन्त्रीहरु सुन, सेयर र बैंकमा बचतसँगै घरजग्गाका धनी देखिएका छन् । 
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको परिवारसँग सबैभन्दा बढी सुन रहेको देखिन्छ । उनकी श्रीमतीको नाममा रहेको १९० तोला सुनको वर्तमान (आइतबारको बजार मूल्यअनुसार) बजार मूल्य ५ करोड ६४ लाख ३० हजार रूपैयाँ हुन आउँछ ।
भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० को प्रावधान बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था पालना गर्दै प्रधानमन्त्री कार्यालयमा पेस गरिएको विवरणलाई सरकारले आम नागरिकको जानकारीका लागि सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विद्यमान कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था छ । यसअघि केपी ओलीको सरकारले यस्तो विवरण सार्वजनिक गर्न बन्द गरेको थियो । 

प्रधानमन्त्री 
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरणमा आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं–९ मा ५ आना रहेको र धनुषामा १.२ विघा जग्गा रहेको उल्लेख छ ।
त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ । शाहले श्रीमती सवितासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन् । सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । जसको स्रोत उनले फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरेका छन् । उनले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र ट्वीटरमा भएको फलोअर संख्यासमेत देखाएका छन् ।
अर्थमन्त्री
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ४ वटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ । उनले सम्पीत्तको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उनीसँग ४५ तोला सुन रहेको खुलाएका छन् । त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको देखाएका छन् ।
उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो खोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । उनीसँग ९४ लाखको गाडी छ । त्यस्तै उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।
गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । सम्पत्ति विवरण अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । 
गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा छ । 
गुरुङसँग ८९ तोला सुन र  ६ किलो चाँदी पनि छ ।
परराष्ट्रमन्त्री 
परराष्ट्र मन्त्री शिशिर खनालकोे काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ । त्यो उनको पैतृक सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ मौज्दात छ । उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ । बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ । यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ । उनले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।
पर्यटनमन्त्री 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको बैंकमा २२ लाख ७३ हजार २२ रुपैयाँ बचत छ । १ करोड ४० लाख ऋण, २ करोडको पारिवारिक फार्म हाउस र भाउजुको नाममा २ करोड ६० लाखको पोखरामा घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । 
शिक्षामन्त्री 
सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण पेस गरेका छन् । यसमा करोडौं मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन् । सार्वजनिक गरिएको विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौंमा ३ आना क्षेत्रफलमा बनेको ४ करोड पर्ने अढाई तले घर छ । 
यस्तै, काठमाडौंकै मूलपानीमा ६ आना जग्गा छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । मोरङमा १ कट्ठा जग्गा पनि उनको नाममा छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा, उनका बुवाको नाममा काठमाडौंमा ४ आना २ पैसाको घडेरी छ, जसको मूल्य साढे २ करोड रुपैयाँ जनाइएको छ । आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा र गोकर्णेश्वरमा अर्को डेढ करोडको जग्गा रहेको देखाइएको छ । आमालगायत सम्पूर्ण परिवारको नाममा गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ । मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी छ । उनीसँग २५ हजार रुपैयाँ नगद पनि रहेको उल्लेख छ । यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिर र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले खुलाएका छन् । 
बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको उल्लेख छ । यसैगरी, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
सवारी साधनतर्फ मन्त्री पोखरेलको व्यक्तिगत नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने कार छ । उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि आफ्नो विवरणमा जनाएका छन् । यी सबै सम्पत्ति र दायित्वहरू समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको जनाएका छन् ।
भौतिकमन्त्री 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, ९० लाख नगद, सुन र चाँदी रहेको उल्लेख छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मा १ कठ्ठा १० धुर जग्गा जमुना लम्सालको नाममा रहेको खुलाइएको छ । त्यसैगरी, जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा रहेको पनि उल्लेख छ । पारिवारिक सम्पत्तिको रूपमा बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको पनि विवरणमा जनाइएको छ ।
मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको जनाइएको भए तापनि सो रकम कुन बैंकमा छ भन्ने खुलाइएको छैन । 

कानूनमन्त्री 
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक विवरणअनुसार मन्त्री गौतमको नाममा काठमाडौं र चितवनमा घर तथा जग्गा रहेको छ । सार्वजनिक विवरणअनुसार मन्त्री गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको उल्लेख छ ।
मन्त्री गौतमको वित्तीय अवस्थातर्फ एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकहरूमा बचत रहेको छ । सवारी साधनको हकमा उनीसँग एउटा भ्यान र एउटा स्कुटर रहेको विवरणमा जनाइएको छ । 
ऊर्जामन्त्री 
उर्जामन्त्री बिराजभक्त श्रेष्ठले दिएको विवरणअनुसार उनको काठमाडौंमा दुई वटा घर छन् । काठमाडौंको वडा नम्बर २४ मा मन्त्री श्रेष्ठको आफ्नै नाममा र १३ नम्बर वडामा विकास श्रेष्ठको नाममा घर छ । पहिलो घर दुई आना र दोस्रो ४ आनामा फैलिएको विवरणमा जनाइएको छ । सगोलको सम्पत्ति बेचेर घर बनाएको उनले जनाएका छन् ।
श्रेष्ठले काठमाडौंका ८ वटा बैंकमा कुल ८० लाख ४० हजार ११७ रुपैयाँ वचन गरेका छन् । त्यसमध्ये ६ वटा बैंकमा रहेको पैसाको स्रोत स्वआर्जन भनिएको छ । सिनर्जी कोअपरेटिभमा रहेको १५ लाख रुपैयाँ पैत्रिक र २५ लाख रुपैयाँ पैत्रिक-विवाह-स्वआर्जन भएको उल्लेख छ । 
यस्तै उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । सुन चाँदीको स्रोतमा पैतृक र विवाह भनिएको छ । श्रेष्ठसँग १ करोड ४५ लाख भन्दा बढी मूल्यको २० हजार ९ सय ७८ कित्ता विभिन्न कम्पनीको सेयर छ ।
श्रेष्ठले बुवाबाट २० लाख रुपैयाँ, नबिल बैंकबाट गाडी खरिदका लागि ३० लाख रुपैयाँ र सिनर्जी कोपरेटिभबाट ३५ लाख रुपैयाँ ऋण लिएका छन् । हाल उनीसँग साढे ८ लाखमा किनेको ल्यान्डक्रुजर, २ लाख ४६ हजारमा किनेको स्कुटर र १९ लाखमा किनेको विद्युतीय गाडी छ । उनले आफूसँग ३० लाख मूल्य बराबरका ब्रान्डेड घडीहरु रहेको उल्लेख गरेका छन् ।
सञ्चारमन्त्री 
संचार तथा सुचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो बैंक ब्यालेन्स १० लाख रुपैयाँ रहेको खुलाएका छन् । बालाजुस्थित नविल बैंकको आफ्नो खातामा १० लाख २४ हजार ३६५ रुपैयाँ र श्रीमती मन्जु गैरेको वनस्थलीस्थित सानीमा बैंकको खातामा १० हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । मन्त्री तिमिल्सिनाले ४८ लाख ऋण दिएको तथा सन् २०२२ मा २३ लाख रुपैयाँमा चारपांग्रे गाडी किनेको उल्लेख छ ।
काठमाडौंको नागार्जुन–१ मा १४२.७० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र काठमाडौंमै १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गा श्रीमतीको नाममा रहेको तिमिल्सिनाले खुलाएका छन् । घर र जग्गा श्रीमतीको आम्दानी रहेको उल्लेख छ । 
यसैगरी, मंगलसुत्र, औंठी र तिलहरी गरी तीन तोला सुन, १० तोला चाँदी, एउटा मोतिमाला र दुई वटा बाला विवाहको समय, पुख्र्यौली सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको बताएका छन् ।
महिला, बालबालिकामन्त्री
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर छ । उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी  पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी÷प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।  उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।
सामान्य प्रशासनमन्त्री 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको बैंकमा २४ लाख ७८ हजार ७६० रुपैयाँ बचत छ । श्रीमानको नाममा ४४ लाखमा किनेको गाडी छ भने ऋण २० लाख छ । काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको उल्लेख छ । उनले यी जग्गा खरिको स्रोत श्रीमानको आय भनेकी छन् । त्यस्तै, आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् । उनले २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
कृषि तथा पशुपक्षीमन्त्री 
कृषि तथा पशुपक्षी एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरणमा २ वटा बाख्रा र १० वटा कुखुरा पनि खुलाएकी छन् । उनले प्राप्तिको स्रोतमा यसै वर्ष माइतबाट उपहार लेखेकी छन् । चौधरीको २ लाख ५० हजार बराबरको सेयर छ । विभिन्न ५ वटा बैंकमा १ लाख २६ हजार मौज्दात देखाएकी छन् । उनको सुन ५ तोला र १०० तोला चाँदी पैतृक र स्वआर्जन स्रोतको रूपमा खुलाएकी छन् । 
चौधरीले बर्दिया राजापुरमा रहेको ३० लाख बराबरको जग्गा र रुपन्देही सैनामैनाको ११५० वर्गमिटरको जग्गा सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् । उनले ७५ हजार बराबरको ल्यापटप, ९० हजार बराबरको मोबाइल र ५० हजारको घडी छ ।

स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नाममा महोत्तरीमा ८ बिघा पुर्खौली जग्गा र उल्लेख्य परिमाणमा सुनचाँदी देखिएको छ । विवरणअनुसार मन्त्री मेहताको महोत्तरीको बल्वा नगरपालिकामा ८ बिघा जग्गा छ ।  उक्त जग्गा सासु गंगादेवी महतो, ससुरा सुरेन्द्रप्रसाद सिंहको नाममा रहेको र सो सम्पत्ति पुख्र्यौली भएको विवरणमा उल्लेख छ । चल सम्पत्तितर्फ मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छ । यसबाहेक एउटा हिराको औँठी रहेको विवरणमा उल्लेख  छ ।  उनको सानिमा बैंकमा १० लाख रुपैयाँ र माछापुच्छ«े बैंकमा ६ लाख २३ हजार रुपैयाँ मौज्दात छ ।
यसैगरी, विभिन्न जलविद्युत कम्पनी र वित्तीय संस्थाहरूको सेयरमा समेत उनले लगानी गरेकी छन् । उनले जीएचएल, एचडीएचपीसी, जीबीएलभी र निफ्रा लगायतका कम्पनीमा सेयर लगानी गरेको विवरण बुझाएकी छन् । सवारीसाधनको हकमा उनले २५ लाख रुपैयाँमा खरिद गरेको ग्रान्ड आई १० कार प्रयोग गर्दै आएको उल्लेख छ ।
उद्योगमन्त्री 
मन्त्री गौरीकुमारी यादवको काठमाडौं महानगरपालिका–९ मा १ रोपनी १ आना २ दाममा ३ तले घर छ । त्यस्तै, काठमाडौं–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको विवरणमा उल्लेख छ ।
महोत्तरीको बर्दिबास नगरपालिकामा १४ कट्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कट्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । महोत्तरीकै सम्सीमा १ कट्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ ।
मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन् । बैंक तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ । सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ ।
श्रममन्त्री 
श्रम मन्त्री रामजी यादवसँग ८० तोला सुन र १ सय ५० तोला चाँदी रहेको छ । उनको पत्नीको नाममा २ वटा बैंकमा ७० लाख र आफ्नो नाममा ३ हजार ४सय ४९ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र