नेभिगेशन
विश्व

आर्थिक संकटका बीच कैदी छाड्दै क्युबा

हवाना । क्युबा सरकारले दुई हजार १० जना कैदीहरूलाई रिहा गर्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनको बढ्दो दबाबका कारण टापु राष्ट्र क्युबा चरम संकटमा परिरहेका बेला बिहीबार ठूलो संख्यामा कैदी रिहाइको निर्णय सार्वजनिक भएको हो ।
सत्तारुढ कम्युनिष्ट पार्टीको आधिकारिक पत्रिका ‘ग्रान्मा’मा प्रकाशित सूचना अनुसार, कैदीहरूको असल चालचलन, स्वास्थ्य अवस्था र उनीहरूले गरेको ‘अपराधको प्रकृति’का आधारमा माफी दिने निर्णय गरिएको हो ।
रिहा हुनेहरूमा युवा, महिला, ६० वर्ष माथिका ज्येष्ठ नागरिक र विदेशीहरूसमेत रहेका छन् । यद्यपि, हत्या, जबरजस्ती करणी वा ‘राज्यविरुद्धको अपराध’मा संलग्न कैदीहरूलाई भने यो सूचीमा राखिएको छैन । ह्युमन राइट्स वाचका अनुसार, क्युबाले अक्सर अभियन्ता, पत्रकार र राजनीतिक विपक्षीहरूलाई निसाना बनाउने गरेको छ ।
क्युबाले यसअघि पनि अन्तर्राष्ट्रिय पक्षहरूसँगको सम्झौताका आधारमा कैदीहरूलाई मुक्त गर्ने गरेको थियो । उदाहरणका लागि, सन् २०२५ को सुरुतिर अमेरिका र भ्याटिकनसँगको वार्तापछि ५५३ कैदी रिहा गरिएको थियो । त्यसबेला बाइडेन प्रशासनले क्युबामाथिको प्रतिबन्ध खुकुलो पार्ने वाचा गरेको थियो ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि उक्त सम्झौता खारेज गरेका थिए । जसका कारण क्युबाले केही समयका लागि रिहाइ प्रक्रिया रोकेको थियो । पछि मार्चमा मात्र पूरा भयो । ‘ग्रान्मा’को विज्ञप्तिमा अमेरिकाको नाम उल्लेख नगरिए पनि यस रिहाइलाई इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘इस्टर’ (होली विक) सँग जोडिएको छ । यद्यपि, ट्रम्प प्रशासनको कडा नीतिले क्युबाको पहिले नै कमजोर रहेको अर्थतन्त्रलाई झन् जर्जर बनाएको छ ।
यसै वर्षको सुरुमा भेनेजुएलामा सैन्य कारबाही र मेक्सिकोमाथि भन्सार शुल्क लगाउने धम्की दिएर ट्रम्प प्रशासनले क्युबा पुग्ने तेलको आपूर्ति ठप्प पारिदिएको थियो । यसको उद्देश्य कम्युनिष्ट शासन रहेको क्युबालाई राजनीतिक र आर्थिक सुधारका लागि बाध्य पार्नु थियो । ट्रम्पले क्युबाको अर्थतन्त्र ध्वस्त हुनुअघि नै सरकारले यसलाई खुला गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले क्युबामा तेलको चरम अभाव भएको छ, जसले गर्दा सवारी साधन चल्न छाडेका छन् र बिजुली उत्पादनमा गम्भीर संकट पैदा भएको छ । देशका पावर प्लान्टहरू इन्धन अभावले बन्द हुँदा मार्चमा मात्रै एक साताभित्र दुई पटक देशव्यापी ‘ब्ल्याकआउट’ भयो, जसले १० करोडभन्दा बढी मानिसलाई अँधेरोमा बिताउनु प¥यो ।
अहिले क्युबामा जनजीवन ठप्प प्रायः छ । विद्यालयहरू बन्द छन्, ऊर्जा बचाउन कामदारहरूलाई बिदा दिइएको छ र इन्धन अभावकै कारण अन्तर्राष्ट्रिय उडानहरू समेत रद्द भइरहेका छन् ।
यसैबीच, केही दिनअघि राष्ट्रपति ट्रम्पले ‘उनीहरू बाँच्न आवश्यक छ’ भन्दै रुसी झण्डावाहक तेल ट्याङ्करलाई क्युबाली जलक्षेत्रमा प्रवेश गर्न अनुमति दिएका थिए । ह्वाइट हाउसले भने यसलाई नीतिको परिवर्तन नभएको स्पष्ट पारेको छ । सन् १९५९ मा फिडेल क्यास्ट्रोले अमेरिकी समर्थन प्राप्त बाटिस्टा शासन उखेलेर फालेदेखि नै अमेरिकाले क्युबामाथि कडा आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्