नेभिगेशन
प्रदेश

सुगम बन्दै दुर्गम महाभारत

काभ्रे । काभ्रे जिल्लाकै विकट महाभारत गाउँपालिका अब विस्तारै सुगम बन्दै गएको छ । निर्माण हुँदै गरेको जनमुक्ती मार्गले पालिकालाई सुगम मात्र नबनाई तराईका जिल्ला जान पनि सहज अवस्था बन्दैछ । त्यसमाथि बागमती प्रदेशको राजधानी हेटौंडा जानका लागि काभ्रे, सिन्धुली, दोलखा र रामेछापका नागरिकले पनि यो छोटो मार्ग प्रयोग गर्न सक्छन् ।
जनमुक्ती मार्ग अन्तर्गत महाभारतभित्र ४० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ । कुल लम्बाई ८० किलोमिटर रहेको उक्त मार्गका लागि ५ अर्ब लाग्ने अनुमान गरिएको छ । यसले काभ्रेका विशेषगरी महाभारत र खानीखोला गाउँपालिकाका स्थानीयको दैनिकीमा परिवर्तन आउने निश्चित भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा बताउँछन् ।
सोही गाउँपालिका वडा नम्बर १ गोकुले, थिङटोलकी बेलीमाया थिङ जनमुक्ती मार्गले यहाँको मुहार नै फेरिएको बताउँछन् । पहिले सदरमुकाम धुलिखेल पुग्न ३ दिनसम्म लाग्ने गरेकोमा अहिले एकै दिनमा पुगेर फर्किन सक्ने भएको उनको अनुभव छ । साथै बिरामी हुँदा अस्पताल जान पनि समस्या थियो भने उत्पादित कृषि उपजहरु बजार लैजान नसक्दा त्यतिकै कुहिएर फाल्नुपर्ने अवस्था रहेकोमा अहिले यातायातको सुगमताले बेच्न पाइएको उनको भनाइ छ । महाभारतका अध्यक्ष जिम्बाको सक्रियता र पहलमा यहाँका नागरिकको दैनिकी फेरिएको थिङको दाबी छ ।
संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो पालिका हो । साविकका पाँचवटा गाउँ विकास समितिहरु गोकूले, घर्तिछाप, फोक्सिङटार, बुढाखानी र बनखु मिलेर हालको महाभारत गाउँपालिका बनेको छ ।
२०७८ सालको जनगणनाअनुसार गाउँपालिकामा जम्मा घर परिवार संख्या ३ हजार १७४ रहेकोमा कूल जनसंख्या १६ हजार ७९ रहेको छ । जसमा पुरुषको संख्या ७ हजार ८८० र महिलाको संख्या ८ हजार १९९ छ । पालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुन–क्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रहेको छ ।
पालिकामा २०७४ सालसम्म विजुली वत्तीको सुविधा थिएन । तर अहिले सबै वडामा केन्द्रीय प्रशारणलाइनको विद्युत सेवा पुगेको वडा नम्बर १ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता कान्छामान जिम्बा बताउँछन् । पालिकामा सजिलो नेट कम्पनीसँग सम्झौता गरेर सरकारी कार्यालय, विद्यालय, गाउँपालिका र वडा कार्यालयमा इन्टरनेटको सुविधा पुगेको छ । पूरै पालिकामा नेटको पहुँच पु¥याउने काम भइसकेको छ ।
पालिकामा पुग्ने सडक पक्की बनाउन बाँकी छ । हाल केही खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । अहिलेसम्म वर्षायाममा भने सहजरुपमा यातायात सञ्चालन गर्न कठिन रहेको र केही वर्षमै यसलाई व्यस्थित बनाउने काम भइरहेको छ ।
हाल बीपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तीछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ती मार्ग) को निर्माण हुँदैछ भने तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किलोमिटर सडकका लागि करिब ९८ करोड विनियोजन भएकोमा ६० करोड ९७ लाखमा सम्झौता भई निर्माणाधीन अवस्थामा छ ।
नागरिकको आर्थिक विकासका लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत चार वर्षदेखि गत आर्थिक वर्षसम्ममा डेढ लाख कफीका बिरुवा रोपिएको र यस वर्ष करिब एक लाख बिरुवा रोप्ने पालिकाको तयारी रहेको जिम्बा बताउँछन् ।
महाभारत गाउँपालिकामा मात्र हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत छन् । जिम्बाका अनुसार अहिले सबै वडाहरुमा जम्मा ३७५ किलोमिटर सडक बनाइएको छ ।
यस्तै विकट क्षेत्रमा सूचीकृत काभ्रेको अर्को खानीखोला गाउँपालिका पनि विस्तारै सुगम बन्दैछ । यस पालिकाको वडानम्बर–५ स्थित तालढुंगालाई बाग्मती प्रदेशको नमुना शहर बनाउने योजना थालिएको छ । यसका लागि पहिलो चरणमा बजार क्षेत्र र वरिपरिको सडकलाई पक्की बनाउन थालिएको पालिकाले जनाएको छ । बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणाधीन अवस्थामा रहेको जनमुक्ती मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुंगा पनि जोडिएको छ । तालढुंगा नमुना शहर निर्माण भएसँगै खानीखोलाका साथै महाभारत गाउँपालिकालाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश