नेभिगेशन
प्रदेश

मुगुमा छैनन् डाक्टर

मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा दुई सातादेखि डाक्टर नहुँदा सेवाग्राही मारमा परेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर र एक जना नर्सको दरबन्दी भए पनि हाल डाक्टरको पद खाली छ भने नर्स शैक्षिक बिदामा रहेकी छन् । यसअघि जिल्ला अस्पतालबाट डा. विकास धिताल काजमा खटिएका थिए । तर उनको काज अवधि सकिएपछि पुनः जिल्ला अस्पताल फर्किएसँगै स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । गाउँपालिका–११ का ५० वर्षीय धनराज कार्की पेटसम्बन्धी समस्या लिएर भिडियो एक्सरेमार्फत उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका थिए ।
त्यहाँ रहेका स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर औषधि दिए पनि विशेषज्ञ सेवा नपाउँदा उनी निरास बने । घरमा रहेका अपांग नातिको परिचयपत्रका लागि आवश्यक सिफारिस गराउन पनि डाक्टर नहुँदा समस्या भएको उनले बताए । खत्याड गाउँपालिका मात्र होइन, छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका तथा हुम्लाको ताँजाकोट गाउँपालिकाका सर्वसाधारणले समेत यस स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए । दैनिक २० देखि ३० जना बिरामी आउने गरे पनि हाल डाक्टर अभावका कारण उनीहरू बाजुराको कोल्टी, जुम्ला र सुर्खेतसम्म जान बाध्य भएको वडा नम्बर ११ का वडा अध्यक्ष रामकृष्ण कार्कीले बताए ।
स्वास्थ्य केन्द्रमा सिनियर अहेव, अहेव र अनमीमार्फत दैनिक सेवा सञ्चालन भइरहेको छ । केन्द्रमा भिडियो एक्सरे, एक्सरे, ईसीजी तथा फिजियोथेरापीका उपकरण भए पनि डाक्टर अभावमा प्रयोगविहीन छन् । जटिल प्रकृतिका बिरामीलाई अन्य स्थानमा रिफर गर्नुपरेको स्वास्थ्य केन्द्रका इन्चार्ज नारायण कार्कीले जानए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्