एजेन्सी – भारतको पञ्जाब प्रान्तमा आएको बाढीले करिब एक हजार गाउँ डुबानमा परेका छन् भने हजारौं विस्थापित भएका छन् । बाढीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ भने २ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
उत्तरपश्चिम भारतको यो प्रान्तमा पछिल्ला दशकमा देखिएको सवैभन्दा भीषण बाढी भएको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले बताएका छन् । उनका अनुसार बाढीले ९४० वर्गकिलोमिटरभन्दा बढी खेतीयोग्य जमिन जलमग्न भएको छ, जसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै तत्काल राहत र पुनस्र्थापना कार्यका लागि संघीय सरकारको सहयोग मागेका छन् ।
प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई टेलिफोनमार्फत कुरा गर्दै संघीय सरकारले ‘पूर्ण सहयोग’ गर्ने आश्वासन दिएका छन् । राज्य सरकार, भारतीय सेना र विपद् व्यवस्थापन निकायहरूले बाढीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउने र खाद्यान्न आपूर्ति गर्न एक हजारभन्दा बढी डुंगा र ३० वटा हेलिकप्टर परिचालन गरेका छन् ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा पानीमा फसेका मानिस र असहाय जनावरको ज्यान बचाउनु हो,’ मुख्यमन्त्री मानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राज्यका अधिकारीहरूका अनुसार, गाईवस्तु तथा अन्य पशुपंक्षीमा समेत ठूलो क्षति पुगेको छ, तर वास्तविक विवरण पानी घटेपछि मात्र थाहा हुने बताइएको छ ।
पञ्जाब क्षेत्रका नदीहरू पाकिस्तानतर्फ बग्ने भएकाले, बाढीको असर पाकिस्तानको सीमा क्षेत्रमा पनि देखिएको छ । थुप्रै जमिनहरू डुबानमा परेका छन्, र स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको छ ।
विशेषज्ञहरूका अनुसार, दक्षिण एसियामा मनसुन अवधिमा बाढी र भूस्खलन सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित शहरीकरण का कारण यी प्रकोपहरू अझ गम्भीर बन्दै गएका छन् ।
भारतको राष्ट्रिय मौसम विभागका अनुसार, यस वर्ष उत्तरपश्चिम भारतमा औसतभन्दा एक तिहाइ बढी वर्षा भएको छ । राजधानी दिल्लीमा यमुना नदीले खतराको तह पार गरिसकेको छ । जसकारण थुप्रै क्षेत्र डुबानमा परेका छन् र भीषण ट्राफिक जाम सिर्जना भएको छ ।
यसअघि जम्मू–कश्मीरमा आएको कीर्तिमानी वर्षा र बाढीले पनि दर्जनौँको ज्यान लिएको थियो । लगातारको भारी वर्षाका कारण उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन अस्तव्यस्त बनेको छ ।