नेभिगेशन
प्रदेश

बुटवल ई–रिक्सा आए, रिक्सा हराए

बुटवल, १७ भदौ - बुटवलका सडकमा एक समय सर्वसुलभ र वातावरणमैत्री सवारीका रूपमा परिचित रिक्सा आधुनिक प्रविधिको आगमनसँगै हराउँदै गएका छन् । विद्युतीय ई–रिक्साको व्यापक प्रयोगसँगै परिश्रममा आधारित परम्परागत रिक्सा ओझेलमा पर्न थालेका छन् । यात्रु घटेसँगै रिक्सा चालकहरू वैकल्पिक रोजगारीको खोजीमा बुटवलबाट पलायन भएका छन् ।

बुटवल बजारमा २४ वर्षदेखि रिक्सा चलाउँदै आएका बोधीलाल बुढामगर अहिले पनि रिक्सा चलाइरहेका छन् । २०५८ सालमा दाङबाट बुटवल आएका बुढामगरका अनुसार पहिले दैनिक दुई–तीन हजार रुपैयाँ आम्दानी हुन्थ्यो । अहिले त्यो दुई–तीन सय रुपैयाँमा सीमित छ । 

‘ई–रिक्सा आएपछि हामीजस्ता परिश्रमी चालकको काम सकियो,’ उनले भने, ‘यात्रु नै पाउँदैनौं, रिक्सा खाली लिएर फर्किनुपर्छ ।’ कपिलवस्तु घर भएका अर्का रिक्सा चालक रामनारायण कहारले पनि उस्तै गुनासो गरे । उनका अनुसार बुटवलमा सडक, सुविधा र सहरको विकास त भयो, तर परम्परागत सवारीसाधनको संरक्षणमा कसैको ध्यान गएन । रिक्सा चालकहरूका लागि ई–रिक्सामा रूपान्तरण सहज नभएको उनले बताए ।

कपिलवस्तु रिक्सा कम्पनीको इतिहास थन्कियो

कपिलवस्तु रिक्सा कम्पनी, जसले एक समय बुटवलमा ५१ वटा रिक्सा सञ्चालनमा ल्याएको थियो । अहिले रिक्सालाई थन्क्याएर पाँचवटा ई–रिक्सा मात्र सञ्चालन गरिरहेको छ । कम्पनीकी सञ्चालक निता गुप्ताका अनुसार अब रिक्साको माग घट्दै गएकाले व्यवसाय जोगाउन ई–रिक्सा सञ्चालनमा ल्याइएको हो । 

‘हामीले रोजगारी सिर्जना गरेका थियौं, अब ती रिक्सा रित्तिए, चालकहरू बेरोजगार भए,’ उनले भनिन् । पर्यटन र संस्कृति संरक्षणमा उपयोग गर्न सकिने सुझाव बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरी अर्यालले भने रिक्सालाई पूर्णरूपमा विस्थापित गर्नुहुँदैन भन्ने धारणा राख्छन् । उनले रिक्सालाई ‘हरित पर्यटन’ को माध्यम बनाउँदै बुटवलको स्थानीय पर्यटकीय क्षेत्रहरूमा सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । 

‘ठमेलमा जस्तै बुटवलमा पनि रिक्सा टुर चलाउन सकिन्छ,’ उनले भने, ‘यसले रोजगार र संस्कृति दुवै जोगाउँछ ।’ ई–रिक्साको अवैध सञ्चालन हाल बुटवलमा १ हजार ४४० वटा ई–रिक्सा दर्ता भएर सञ्चालनमा छन् भने ५ सयभन्दा बढी अवैध रूपमा सञ्चालन भैरहेको स्वतन्त्र ई–रिक्सा तथा अटो टेम्पो चालक संघ, रुपन्देहीका अध्यक्ष फुलकुमार चौधरीले जानकारी दिए । 

उनका अनुसार धेरैजसो ई–रिक्सा चालकहरू पहिले रिक्सा चलाउने मजदुरहरू नै हुन् । ‘रिक्सा यात्रुहरूले चढ्न छाडे, हामीजस्ता गरिबहरूलाई ई–रिक्सा किन्नै गाह्रो छ,’ उनले भने, ‘कसैले पनि साना मान्छेको समस्या सुन्दैन, प्रशासन र उपमहानगरबाट पनि बारम्बार दुःख दिइन्छ ।’

विलुप्तिको संघारमा परिश्रमी सवारी रिक्सा हराउँदै जानु केवल सवारीको अन्त्य होइन, एक युगको समाप्ति हो । कुनै समय बुटवलका गल्लीहरूमा जीवन्तता दिने यी सवारी आज स्मृतिमा सीमित हुन थालेका छन् । अब चुनौती भनेको रिक्सालाई इतिहासको पाना बनाउने कि संरक्षण गरेर नयाँ स्वरूप दिन सक्ने भन्ने हो ।

बुटवलमा साइकल मर्मत व्यवसाय सञ्चालन गर्दै आएका चन्द्र सुवेदीका अनुसार रिक्साको मर्मतका लागि अब बिरलै मात्र ग्राहक आउँछन् । ‘अहिले साइकल र ई–रिक्साले बजार लिएको छ, रिक्सा भने देखिनै छाडेको छ,’ उनले भने ।

बुटवलका नीति निर्माताहरू, स्थानीय सरकार, व्यवसायी तथा समुदायले रिक्सा संरक्षणका लागि कस्तो रणनीति बनाउलान् ? त्यो हेर्न बाँकी छ । तर, यथास्थितिमा परम्परागत रिक्सा लोप हुने निश्चित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्