नेभिगेशन
विश्व

डीपफेक अश्लील सामग्री आरोपमा किशोर दोषी

सिड्नी । (बीबीसी) अस्ट्रेलियाका एक किशोरले डीपफेक अश्लील सामग्री बनाएको आरोपमा दोष स्वीकार गरेका छन् । यसलाई ऐतिहासिक मुद्दाका रूपमा हेरिएको छ ।
१९ वर्षीय विलियम ह्यामिश यीट्स नयाँ राष्ट्रिय कानूनअन्तर्गत आरोप लाग्ने पहिलो व्यक्ति बनेका छन् । उक्त कानूनले यौन सामग्रीमा डिजिटल हेरफेरलाई अपराध ठहर गर्छ र यसमा अधिकतम सात वर्षसम्मको कैद सजाय हुन सक्छ ।
विशेषज्ञहरूका अनुसार डीपफेक अश्लील सामग्री प्रायः यान्त्रिक मेधा (एआई) प्रविधिबाट तयार गरिन्छ र प्रायः महिला तथा किशोरीहरूलाई लक्षित गर्छ । यो लैंगिक आधारमा हुने डिजिटल दुव्र्यवहार र विद्यालयस्तरीय बुलिङको नयाँ स्वरूप बन्दै गएको छ ।
यीट्सले बुधबार अदालतबाट बाहिरिँदै कुनै प्रतिक्रिया दिएनन् । उनले चारवटा आरोपमा दोष स्वीकार गरेका छन् र अब उनी अप्रिलमा हुने सुनुवाइका लागि पुनः अदालतमा उपस्थित हुनेछन् ।
यसअघि उनीमाथि २० वटा संघीय आरोप लागेका थिए । तर उनले बिना सहमति यौन सामग्री तयार गर्ने वा परिमार्जन गर्ने, त्यसलाई वितरण गर्ने तथा अनलाइन माध्यम प्रयोग गरी दुव्र्यवहार गर्ने आरोप स्वीकार गरेपछि केही आरोप फिर्ता लिइएको थियो । अदालतमा प्रस्तुत विवरणअनुसार यीट्सले पीडितको सहमति बिना उनका तस्बिरहरू विभिन्न एक्स (पहिलेको ट्विटर) खातामार्फत सार्वजनिक गरेका थिए । संघीय अभियोजन पक्षका एक प्रवक्ताले यो यस्ता प्रकृतिको पहिलो मुद्दा भएको पुष्टि गरेका छन्, यद्यपि केही राज्यहरूमा डीपफेक सामग्रीसम्बन्धी आफ्नै कानुनी व्यवस्था पनि रहेका छन् ।
अस्ट्रेलियाको इन्टरनेट नियामक संस्था ई सेफ्टी कमिसनले यान्त्रिक मेघा (एआई)बाट हेरफेर गरिएका सामग्रीको बढ्दो जोखिमबारे चेतावनी दिँदै आएको छ। साथै, ‘न्यूडिफाइ’ गर्ने एपहरूलाई देशमा प्रतिबन्ध लगाउन पहलसमेत गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्