नेभिगेशन
अर्थतन्त्र

कृषि एम्बुलेन्स : किसानको आय र आत्मसम्मानको साथी

कास्की, १७ भदौ - पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्स कार्यक्रमले साना किसानदेखि व्यवसायिक कृषकसम्मलाई राहत दिएको छ । कृषि एम्बुलेन्सले कृषकको आय र आत्मसम्मान बढाउनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

बजारसम्म पुर्‍याउने पहुँच नहुँदा वर्षौंसम्म उत्पादन खेर जाने बाध्यता झेल्दै आएका किसानहरू अहिले आफ्नै गाउँबाट उपज उठ्ने, मूल्य घरमै पाउने र खर्च कम हुने जस्ता फाइदाबाट उत्साहित भएका छन् ।

पोखरा महानगरले सञ्चालनमा ल्याएको यो एम्बुलेन्सले किसानको खेतबारीसम्म पुगी तरकारी संकलन गर्छ र सहरका सहरी वडाहरूमा तोकिएको बिक्री केन्द्रमा वितरण गर्छ । यसमार्फत किसानले विचौलियाबाट हुने शोषणबाट मुक्ति पाएको अनुभव गरेका छन् ।

कृषक सरस्वती तिवारी भन्छिन्, ‘पहिला बचेको तरकारी मलखादमा हाल्नुपर्थ्यो, अहिले त्यही तरकारी बेचेर नुनतेल किन्न मिल्छ ।’ अर्का कृषक सिताराम तिवारी भन्छन्, ‘एम्बुलेन्सले घरमै आएर उचित मूल्य दिएपछि आत्मबल बढेको छ ।’

कृषि एम्बुलेन्सबाट केवल आम्दानी मात्रै नभइ किसानमा व्यवसायिकता र कृषि चेतना पनि विकास भइरहेको छ । पहिले नबिक्ने डरले थन्किएका तरकारीहरू अहिले सिधा बजारमा पुगिरहेका छन् ।

कृषक राधाकृष्ण तिवारी भन्छन्, ‘यसअघि व्यापारीले चाहिने मात्र खरिद गर्थे, अब उत्पादन भएको सबै लैजान्छन् । अब त हामीले खेतको क्षेत्रफल पनि बढाएका छौं ।’ महेन्द्रबहादुर थापा थप्छन्, ‘अनुदान भनेको नामका मात्रै हो, तर यो एम्बुलेन्सले वास्तवमा किसानको जीवनमा फरक पारेको छ ।’

महानगरले साढे ३५ लाख रुपैयाँ लगानीमा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । एम्बुलेन्समा चिस्यानको सुविधा भएकाले तरकारी बिग्रँदैन । एक चालक र एक सहयोगी सहितको टोलीले बारअनुसार तालिका बनाएर गाउँगाउँबाट तरकारी संकलन गर्छन् ।

संकलन गरिएको तरकारी २० प्रतिशत मूल्यवृद्धि गरी उपभोक्तामा बिक्री गरिन्छ भने तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कममा बिक्री भएमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ ।

कृषकहरूले गुणस्तरीय विउँको अभाव र कृषि प्राविधिकको सेवा गाउँमा नपुगेको गुनासो गरेका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याएर वास्तविक किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउनुपर्नेमा उनीहरूको जोड छ ।

पोखरा महानगरको कृषि एम्बुलेन्स कार्यक्रमले बजार र किसानबीचको दूरी घटाएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन, आत्मनिर्भरता बढाउने प्रयास र कृषिमा विश्वास जगाउने वातावरण सिर्जना गरेको छ । कृषक खुसी छन्, उपभोक्ता सन्तुष्ट भएकाले पनि यो कार्यक्रम स्थानीय सरकारको सफल उदाहरण बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्