नेभिगेशन
प्रदेश

सर्लाहीमा अघोषित लोडसेडिङ

सर्लाही - अघोषित लोडसेडिङ जारी रहदा सर्लाही जिल्लाको विभिन्न स्थानहरूमा जनजीवन कष्टकर बनेको छ । जिल्लाका लालबन्दी, मलंगवा र बरहथवा क्षेत्रका बासिन्दा दैनिकजसो झ्याप्पझ्याप्प बत्ती जाने समस्याले हैरान भएका छन् ।

मौसममा सामान्य परिवर्तन (हल्का हुरी चल्दा, झरी पर्दा) हुँदा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको उपभोक्ताहरू बताउँछन् । लगातारको अनिश्चित विद्युत् आपूर्तिले शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक जीवन नै प्रभावित भएको छ ।

स्थानीय बासिन्दा राजेश थापा मगर भन्छन्, ‘बत्ती गयो भनेर नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रमा फोन गर्दा या त फोन उठ्दैन, या घण्टौं व्यस्त देखाउँछ । फोन उठे पनि सधैंजसो एकै प्रकारको ‘तयारी’ जवाफ आउँछ– माथिबाट गएको हो, एकछिनमै आउँछ ।’

यस्तै, स्थानीय सुनिलकुमार साहले भने, ‘बिजुली एक घण्टामा तीनचोटि आउँछ जान्छ, कहिले त मिनेटमै जान्छ । यो त अघोषित लोडसेडिङ हो ।’ चर्को गर्मीको बेला कहिले दिनभर त कहिले रातभर विद्युत् नहुँदा नागरिक उकुसमुकुस भएर बस्न बाध्य छन् । 

पंखा नचल्ने, फ्रिज बन्द हुने, इन्टरनेट अवरुद्ध हुनेजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । स्थानीय माधव सापकोटा भन्छन्, ‘विद्युत् कहिले आउँछ, कहिले जान्छ भनेर टुंगो नै हुँदैन । न त पढ्न सकिन्छ, न त काम गर्न ।’

बिजुली समस्या केवल लालबन्दीमा मात्र सीमित छैन । सदरमुकाम मलंगवा, बरहथवा, हरिवन जस्ता क्षेत्रमा समेत पटकपटक बत्ती जानाले स्थानीयहरू आक्रोशित छन् । नेपाल विद्युत् प्राधिकरणले देशलाई ‘लोडसेडिङ मुक्त’ घोषणा गरिसकेको भए पनि सर्लाहीमा भने उपभोक्ता अझै अध्यारोमै छन् ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले भने प्राविधिक कारणले समस्या भइरहेको बताउँछन् । ‘वर्षातको समयमा हावाहुरी र रुख ढल्ने समस्याले पोल र लाइनमा क्षति पुग्छ । हामीसँग कहाँको लाइन बिग्रिएको भन्ने तुरुन्तै पत्ता लगाउने प्रविधि छैन । त्यसैले सबै ठाउँको लाइन अन–अफ गरेर चेक गर्नुपर्छ,’ यादवले भने ।

उपभोक्ताहरू विद्युत् प्राधिकरणले समस्या समाधानमा गम्भीरता नदेखाएको आरोप लगाउँदै आएका छन् । मर्मत तथा पूर्वतयारीमा हेलचेक्य्राइँ हुँदा यस्तो अवस्था आएको उनीहरूको गुनासो छ । यथाशीघ्र समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक पूर्वाधार सुधार गर्नुपर्ने माग उपभोक्ताहरूको रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्