नेभिगेशन
अर्थतन्त्र

पोखराका व्यवसायी डीडीसीको विरोधमा

पोखरा (संवाददाता)– दुग्ध विकास संस्थान (डीडीसी) ले पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने तयारी गरेपछि व्यवसायीले विरोध जनाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले मंगलबार विज्ञप्ति जारी गर्दै पोखराको दुग्ध व्यवसायमा सरकारको उपस्थिति भए निजी क्षेत्रबाट भएको ठूलो लगानी धरासायी हुने भन्दै आपत्ति जनाएको छ ।

दुग्ध विकास संस्थानले २०६१ सालमा आफ्नो दुग्ध प्रशोधन एवं प्याकेजिङ प्लान्ट निजी कम्पनीलाई हस्तान्तरण गरेपछि पोखरामा डेरीको व्यवसाय निजी क्षेत्रले मात्रै गर्दै आएका छन् । व्यापारीहरूले सरकारले छाडेपछि आफूहरूले दुग्ध व्यवसायमा ठूलो लगानी गरेको र हजारौंको संख्यामा रोजगारी सिर्जना गरेको बताएका छन् ।

पोखरामा रहेका डेरी उद्योगहरू बजारको माग धान्न सक्षम भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले सधैं निजी क्षेत्रमैत्री खुला बजार अर्थतन्त्र, प्रतिस्पर्धात्मक बजार व्यवस्था र उपभोक्ताको अधिकारको पक्षपोषण गर्ने उल्लेख गर्दै दुग्धजन्य व्यवसायमा निजी लगानीलाई थप प्रोत्साहन गर्नुपर्ने बताएको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको र सरकारबाटै विशेष सहुलियत प्राप्त कम्पनी प्रतिस्पर्धा गर्न आउँदा निजी क्षेत्र धरासायी बन्ने भन्दै संघले विरोध जनाएको हो । संघले सरकारले अंगीकार गरेको निजीकरण विपरीत पोखरामा डीडीसी आउन खोजेको आरोप लगाएको छ ।

डीडीसी पोखरा फर्कन खोज्नुमा आन्तरिक कमी–कमजोरी ढाकछोप गर्ने बहाना भएको आशंका पनि संघले गरेको छ । संघले पोखरामा दुग्ध प्रशोधन कारखाना खोल्ने निर्णयमा पुनर्विचार गर्न कृषि मन्त्रालयलाई आग्रह गर्दै निजी क्षेत्रलाई थप लगानीको वातावरण निर्माणका लागि सहयोग गर्न माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्