नेभिगेशन
प्रदेश

वर्षाले जलमग्न पार्दा ५९ परिवारको उठीवास

कञ्चनपुर, १७ भदौ - कञ्चनपुरमा दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण ५९ परिवारका २१४ जना विस्थापित भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला क्षेत्रमा पाँच परिवार घरको छतमा बसेका छन् भने दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ रामपुरे टापुमा जोगबुढा नदीको पानी पसेपछि २५ परिवारका ७० जना प्रभावित भएका छन् । प्रभावितलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ ।

त्यसैगरी, दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ पटराखल्लामा जोगबुढा नदीको पानी पसेपछि १५ परिवारका ५५ जना विस्थापित भएर जमुना आधारभूत विद्यालयमा सरेका छन् ।

वर्षाका कारण दोधारा चाँदनी–८ राजिपुरमा गैलनदी भित्री सडक भासिएको छ भने सुन्दरनगरस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टमा पानी पसेपछि २३ जना कर्मचारीलाई ओमकार आधारभुत विद्यालयमा सारिएको छ ।

कञ्चभोज वडा नम्बर ७, स्थित अर्को सशस्त्र प्रहरी बीओपीमा पनि पानी पसेपछि ३० जना कर्मचारीलाई सहरी खोप केन्द्रमा सारिएको छ । दोधारा–१० शान्तीटोलमा पानी पसेपछि १२ परिवारका ४० जना अम्बिका माध्यमिक विद्यालयमा सुरक्षित गरिएका छन् । वडा नम्बर १० श्रीलंकामा दुई घर भत्किएका छन् ।

महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ७७ हजार ४११ क्यूसेक पुगेको छ । पानीको बहाव बढेसँगै भारतले नेपाल–भारत जोड्ने शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे र तीनपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ । 

हाल पैदलयात्री र दुईपांग्रे सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ । स्थानीय प्रशासनले बाढी र जलजनित जोखिमलाई ध्यानमा राखेर सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्