कोहलपुर एक विकसित हुँदै गरेको पर्यटकीय नगरी हो, जसले प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताका कारण पर्यटकहरूलाई आकर्षित गर्दछ । बाँके जिल्लामा अवस्थित यो शहर पश्चिम नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरू जस्तै बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्जतर्फ जाने प्रमुख प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुरको आसपास हरियाली जंगल, नदी तथा ग्रामीण जीवनशैलीले पर्यटकलाई शान्त र रमाइलो अनुभव दिन्छ । साथै यहाँको स्थानीय संस्कृति, परम्परा र आतिथ्यताले भ्रमणलाई अझै स्मरणीय बनाउँछ, जसका कारण कोहलपुर एक सम्भावनायुक्त पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको छ । यहाँ अहिलेको नयाँ प्रविधिलाई उपयोग गर्दै नयाँ नयाँ स्थानमा भिडियो बनाउनेहरुको सधैं सक्रियता रहन्छ । चौराह, न्युरोड, सुतैया तालजस्ता भीडभाडस्थलमा लगातार भिडियो छायांकन हुने गरेको छ । त्यही क्रममा अहिले कोहलपुर–४ गोहुवा उदीयमान विकल्पका रूपमा देखापरेको छ ।
गोहुवा पुग्न सजिलो छ । हबल्दारपुरबाट करिब तीन किमि पश्चिमतर्फ पुग्दा यो स्थान खुला सडक र सहज आवागमनको सुविधासहित देखिन्छ । पिपिरी चोकबाट सीधै पश्चिमतर्फ जाने मार्ग पनि छ, जहाँ करिब डेढ किमि यात्रा गर्दा थोरै कच्ची सडक पार गर्नुपर्छ । यसले गर्दा बाहिरका टिकटकर र सामाजिक सञ्जाल क्रिएटरहरूले छोटो समयमा सृजनात्मक सामग्री तयार पार्न सक्ने वातावरण मिलेको छ ।
गोहुवाको मुख्य आकर्षण यसको स्थानीय संस्कृति र प्राकृतिक परिवेशमा रहेको छ । यहाँ एक ठूलो गोहीको प्रतिमा निर्माण गरिएको छ, जसले स्थानको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँछ । प्रतिमा निर्माणको उद्देश्य आन्तरिक पर्यटकलाई आकर्षित गर्नु मात्र होइन, युवा क्रिएटरलाई भिडियो बनाउने नयाँ प्रेरणा दिनु पनि हो । अहिलेसम्म यो स्थल स्थानीय गाउँलेबाहेक धेरैलाई परिचित छैन, जसले गर्दा भिडियो सामग्रीको मौलिकता र अनौठोपनामा योगदान पु¥याउँछ ।
स्थानको नाम ‘गोहुवा’ पनि यसैकारण रहँदै आएको हो । गाउँमा गोही बस्ने भएकाले स्थानको नाम गोहुवा परिकल्पना गरिएको छ । यसले यहाँको सांस्कृतिक पहिचान र स्थानीय जीवनशैलीमा आधार बनाएको छ। गाउँलेका अनुसार, गोहुवामा गोहीको संरक्षणसँगै पर्यटक र युवा क्रिएटरका लागि सुरक्षित र सुन्दर वातावरण निर्माण गरिएको छ ।
नेपालमा मुख्य रूपमा २ प्रकारका गोही पाइन्छन् । एक घडियाल गोही हो । यसको मुख लामो र साँघुरो हुन्छ, र यसले प्रायः माछा खाने गर्छ । यो अत्यन्त दुर्लभ प्रजाति हो र संरक्षणको उच्च प्राथमिकतामा राखिएको छ । नेपालका चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज मा पाइन्छ । अर्को प्रजाति हो, मगर गोही । यसको मुख फराकिलो हुन्छ र यो माछा मात्र होइन, अन्य जनावर पनि खान्छ । यो नेपालका विभिन्न नदी, ताल र सिमसार क्षेत्रमा पाइन्छ । नेपालमा गोहीका यी दुई प्रमुख प्रजाति पाइन्छन्, जसको संरक्षणका लागि विभिन्न निकुञ्ज तथा संरक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
सामाजिक सञ्जाल र टिकटकमा क्रिएटिभ भिडियो बनाउन चाहनेका लागि गोहुवा नयाँ गन्तव्य बन्न सक्छ । भीडभाडबाट टाढा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक आकर्षणयुक्त गोहुवा युवा क्रिएटरका लागि आकर्षक स्थान बनेको छ । यो स्थल आन्तरिक पर्यटनको दृष्टिले पनि ओझेलमा परेको छ । यदि स्थानीय सरकार वा पर्यटन संघले यसलाई व्यवस्थित बनाउने काम अगाडि बढाए, यहाँको आयआर्जन र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्न सक्छ ।
‘गोहुवा टिकटक र सामाजिक सञ्जाल क्रिएटरका लागि मात्र होइन’, स्थानीय गीता चौधरीले भनिन्, ‘स्थानीय अर्थतन्त्र र आन्तरिक पर्यटन प्रवद्र्धनको दृष्टिले पनि नयाँ सम्भावना बोकेको गन्तव्य हो ।’ युवा सिर्जनशीलताका लागि रमाइलो, सांस्कृतिक र प्राकृतिक मिश्रण भएको यो स्थलको अवलोकन गर्नु अवश्य नै रोचक अनुभव बन्ने उनको विश्वास छ ।
नेपालमा आन्तरिक पर्यटन पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ, जसले देशभित्रकै प्राकृतिक, सांस्कृतिक र सामाजिक सम्पदाप्रति नागरिकहरूको आकर्षण बढाएको छ । विशेष गरी कोहलपुर जस्ता विकसित हुँदै गरेका सहरहरूले यस प्रवृत्तिलाई थप ऊर्जा दिएका छन्, जहाँबाट बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज जस्ता गन्तव्यहरूमा सजिलै पुग्न सकिन्छ । यसै सन्दर्भमा कोहलपुर–४ स्थित गोहुवा नयाँ र उदीयमान आन्तरिक पर्यटकीय स्थलका रूपमा देखा परेको छ, जसले विशेष गरी युवा पुस्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आकर्षित गरिरहेको छ । भीडभाडयुक्त चोक तथा बजारभन्दा फरक, शान्त वातावरण, हरियाली परिवेश र स्थानीय सांस्कृतिक पहिचानले भरिएको गोहुवाले मौलिक अनुभव प्रदान गर्छ । यहाँ निर्माण गरिएको गोहीको प्रतिमाले स्थानको ऐतिहासिक तथा सांस्कृतिक सन्देश बोकेको छ भने यसले सृजनात्मक भिडियो निर्माणका लागि पनि नयाँ सम्भावना खोलेको छ । गोहुवाजस्तो अझै ओझेलमा रहेका स्थलहरूको प्रवद्र्धनले आन्तरिक पर्यटनलाई विविधीकरण गर्न सहयोग पु¥याउँछ, जसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिन सक्छ । साथै, यस्ता स्थानहरूको प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान दिन सकेमा पर्यटकको आवागमन बढ्नुका साथै रोजगारीका अवसरहरू पनि सिर्जना हुन सक्छन् । त्यसैले, गोहुवा केवल घुमफिरको गन्तव्य मात्र नभई नेपालको आन्तरिक पर्यटन विस्तारको एक सम्भावनायुक्त उदाहरणका रूपमा लिन सकिन्छ ।